नेपाली कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनको कार्यदलले चुनावी तालमेलको टुंगो लगाउन नसकेपछि त्यसको जिम्मा नेपाली कांग्रेसलाई दिएको छ।
आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धनमा रहने दलले के कति संख्यामा सिट लिने भन्ने विषय टुंगो लगाउन नसकेपछि कार्यदलले त्यसको अन्तिम टुंगो लगाउने जिम्मा कांग्रेसका शीर्ष तहका नेतालाई दिएको हो । दुई दिनसम्म बसेको कार्यदलले सिट, जिल्ला र पार्टीको छिनोफानो गर्ने जिम्मा कार्यदलको संयोजक समेत रहेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई दिईएको कार्यदलका सदस्य रामजनम चौधरीले जानकारी दिए।
स्थानीय तहको निर्वाचनमा पार्टीले प्राप्त गरेको सिट, मत तथा अघिल्ला दुई संविधानसभाको निर्वाचनमा पाएको मतका आधारमा शीर्ष नेतासँग परामर्श गरी सिट र क्षेत्र निर्धारण गर्ने सहमति कार्यदलमा भएको छ।
कार्यदलको बैठकमा सहभागी विभिन्न पार्टीका नेताले सिट संख्यामा आ- आफ्ना दाबी गरेपछि त्यसको टुंगो सबै भन्दा ठूलो पार्टी काँग्रेसका शिर्ष नेताबाट लगाउन लागिएको हो । कुन पार्टीले कति सिट लिने र कुन क्षेत्र भन्ने निक्र्यौल भएपछि मात्रै आफूहरू जिल्लामा परिचालित हुने नेता रामजनम चौधरीले जानकारी दिए।