काठमाडौं जिल्लाका दशमध्ये चार सिटमा माओवादीले दाबी गरेको छ।
मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाम गठबन्धनको कार्यदलले सिट बाँडफाँटका लागि गृहकार्य गरिरहेको छ। एमाले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कार्यदलको छलफलमा माओवादीले चार सिट दाबी गरेको हो।
एमाले नेताहरूले यसलाई स्वभाविक दाबी भएको भन्दै मिलाएर लैजाने बताएका छन्। उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भनिन्, 'उहाँहरूको दाबी स्वभाविक छ। जे गर्दा गठबन्धनलाई राम्रो हुन्छ, त्यही गर्ने हो। हामी मिलाएर लैजान्छौं।'
अष्टलक्ष्मी आफैँ काठमाडौं क्षेत्र नम्बर ९ की दाबेदार हुन्। २०५६ सालको निर्वाचनमा उनी यहाँबाट निर्वाचित भएकी थिइन्। यसपछिका दुवै निर्वाचनमा कृष्णगोपाल श्रेष्ठ यहाँबाट उम्मेदवार बने पनि पराजित भएका थिए। माओवादीलाई चार सिट दिनुपरेमा उनको आफ्नै उम्मेदवारी पनि धरापमा पर्न सक्छ।
'हामी एकीकरणको महान् प्रकृयामा छौं,' उनले भनिन्,'सानो मन कसैले गर्नु हुन्न।' यही क्षेत्रबाट उम्मेदवारी दाबी गरिरहेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले पनि माओवादी दाबी स्वभाविक भएको बताए। 'सैद्धान्तिक रूपमा ६०-४० प्रतिशत भागबण्डाको कुरा गरेको हो,' उनले भने, 'त्यसैले उहाँहरूले दशमा चार सिट माग्नु भएको हो। यो स्वभाविक छ।'
माओवादीले स्थानीय तह निर्वाचन र २०७०को संविधान सभा निर्वाचनमा समेत काठमाडौंमा राम्रो मत ल्याउन सकेको थिएन। स्थानीय तह निर्वाचनका काठमाडौं महानगरपालिकामा माओवादीका मेयर उम्मेदवार सर्वोत्तम डंगोलले जमानतसमेत जोगाउन सकेका थिएनन्। उनी पाँचौ भएका थिए।
एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य राम्रो मतका साथ मेयरमा विजयी भएकाले एमालले काठमाडौंमा केही बढी सिट दाबी गरिरहेको छ। काठमाडौंमा लड्ने एमालेका नेता पनि धेरै भएकाले व्यवस्थापनका लागि केही सिट बढी चाहिने एमालेको दाबी छ। कार्यदलमा एमालेले माओवादीलाई तीन सिट दिने प्रस्ताव गरेको छ।
माओवादीले काठमाडौंको १, ६, ८ र १० दाबी गरिरहेको छ भने एमालेले १० नम्बर दिन नसिकिने जिकिर गरिरहेको छ। १० नम्बर निर्वाचन क्षेत्रमा अघिल्लो संविधान सभा निर्वाचनमा कांग्रेसका राजन केसी निर्वाचित भएका थिए। माओवादी अध्यक्ष पुष्पकमल दाहाल यहाँ तेस्रो भएका थिए भने एमाले नेता सुरेन्द्र मानन्धर पहिलो भएका थिए।
कीर्तिपुर नगरपालिका एमालेले जितेकाले अहिले यहाँ एमालेको स्थान बलियो भएको छ। काठमाडौं ६ मा भने अघिल्लो संविधान सभा निर्वाचनमा एमाले सचिव योगेश भट्टराई नेपाली कांग्रेसका भिमसेनदास प्रधानसँग पराजित भएका थिए। भट्टराई अब ताप्लेजुङबाट निर्वाचन लड्ने तयारी गरिरहेका छन्। त्यसैले यो क्षेत्र खाली छ।
१ र ८ मा पनि एमालेका ठूला नेता नभएकाले यी क्षेत्र माओवादीलाई दिने विषयमा एमालेभित्र छलफल भइरहेको छ। कार्यदलले केही दिन भित्रमा नै मुलुकभरको सिट बाँडफाँट गर्ने तयारी गरेको छ। दुई पार्टीबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६० र ४० प्रतिशत भागबण्डा गर्ने गरी उम्मेदवार उठाउने सहमति यसअघि नै भइसकेको छ।
सिट बाँडफाँटका लागि एमाले महासचिव पोख्रेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनेको छ। कार्यदलमा एमालेका विष्णु पौडेल र सुरेन्द्र पाण्डे, माओवादीका वर्षमान पुन र रामबहादुर थापा तथा नयाँ शक्तिका गंगा श्रेष्ठ छन्।