गृहमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का नेता जनार्दन शर्माले ‘नेपालको विकास र प्रगतिका लागि देशमा धेरै पार्टीको आवश्यकता नरहेकाले’ वाम एकताको सुरूआत भएको बताएका छन् ।
रुकुम (पूर्व) जिल्लाको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले वाम एकताले गर्दा लोकतान्त्रिक एकताको पनि सुरूआत हुनाले देश विकास र प्रगतिको बाटामा अगाडि बढेको उनको भनाइ थियो ।
‘एमाले र माओवादी हामी दुवैले सशस्त्र क्रान्ति गरेका हौँ । सशस्त्र विद्रोह भनेर झापा आन्दोलन अहिलेका एमाले नेताहरुले गरेका हुन्, हामीले जनयुद्ध गर्यौँ”, नेता शर्माले भने, ‘जनयुद्ध, जनआन्दोलन हुँदै नयाँ संविधान बनाएर यहाँसम्म आइपुग्दा दुवै पार्टीका सैद्धान्तिक र वैचारिक आधार एउटै हुन पुगेको छ । वैचारिक सहमति बनेपछि अलग अलग पार्टीमा बस्नुभन्दा पनि एउटै पार्टीको पहल सुरू गरिएको हो।’ उनले थपे, ‘कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेर एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्यसहित अगाडि बढेका छौँ ।
मुलुकलाई राजनीतिक स्थायित्व दिन, आर्थिक समृद्धि दिन र संविधान कार्यान्वयनलाई अझ सफलतापूर्वक लैजानका लागि माओवादी केन्द्रका अध्यक्ष र नेकपा(एमाले)का अध्यक्षले एकार्काको आवश्यकता महसुस गर्नाका साथै एकार्काको अस्तित्व स्वीकारेको बताउँदै नेता शर्माले भने, ‘आरोप प्रत्यारोप त्यागेर वाम एकताका साथ उहाँहरु एक ठाउँमा आउनुभएको हो । यो कसैका विरुद्धमा भन्दा पनि देश र नेपाली जनताको समृद्धि र विकासका लागि हो ।’
एकता प्रक्रियामा गएर समायोजन समिति बनाउँदै गर्दा एमाले र माओवादी केन्द्रका अध्यक्षहरु प्रमुख नेताका रुपमा रहने उनले बताए। अब ओलीको नेता प्रचण्ड र प्रचण्डको नेता ओली भएको उनको भनाइ थियो । तत्कालीन नेकपा(माओवादी)को २०६४ सालको काभ्रेको फूलबारी बैठकमा एमालेसँग एकता गर्ने प्रस्ताव नै पारित भएको र त्यसपछि दुई पार्टीबीच धेरै छलफल भए पनि अहिले त्यो सफल भएको नेता शर्माले जानकारी दिए।