राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत गोविन्द पोखरेललाई प्यूठान छाड्न निर्वाचन आयोगले निर्देशन दिएको छ।
आयोगले प्यूठानका प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता विपरित गतिविधिमा संलग्न भएको आरोपमा पोखरेललाई तुरुन्त जिल्ला छाड्ने वातावरण बनाउन पत्र काटेको हो।
आयोगले पोखरेललाई २४ घण्टे स्पष्टीकरण समेत सोधेको छ। निर्वाचन आयोगले सार्वजनिक पद धारण गरेर पार्टीको गतिविधिमा संलग्न हुनुलाई आचारसंहिता उल्लघंनको रुपमा लिएको छ। पोखरेल कांग्रेसबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न लबिङका लागि प्यूठानमा सक्रिय भएका थिए। उनी गत १० गतेदेखि १६ गतेसम्म कांग्रेसका नेता कार्यकर्ता भेटघाटमा संलग्न भएको उजुरी आयोगमा परेको हो।
कांग्रेस जिल्ला कमिटीले पोखरेलको नाम उम्मेदवारमा समेत यसअघि नै सिफारिस गरिसकेको छ।
आयोगले पोखरेललाई सोधेको स्पष्टीकरणमा भनिएको छ ‘यहाँ जस्तो सार्वजनिक पदधारण गरेको व्यक्तिले कुनै दल विशेषको कार्यक्रममा सहभागी हुने कार्य निर्वाचन आचारसंहिता विपरीतको देखिँदा यहाँलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेबापत कारबाही हुनुपर्ने हो, होइन?’
यसका साथै, निर्वाचन आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई आयोगको सहमतिविना सरुवा गरेको विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आदेश दिएको छ ।
मन्त्री देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतमलाई गत ९ गते सरुवा गरेका थिए। उनले आचारसंहिता विपरित काम गरेको पुष्टी भएकाले उपस्थित भएरै स्पष्टीकरण दिन निर्देशन दिएको आयोगले जनाएको छ। मन्त्री देवले गौतमलाई मन्त्रालयमा एउटा कार्यदल निर्माण गरी सरुवा गरेका थिए ।