राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष वृशेषचन्द्र लालले मित्र राष्ट्र चीनको इशारामा नेपालमा वाम एकताको सुरू भएको आरोप लगाएका छन्।
बिहिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उपाध्यक्ष लालले भने,‘कसैको इशारामा नभएको भए यो कसरी रातारात वाम तालमेल र पार्टी एकताको प्रयास भयो त ? सोच्नुपर्ने कुरा त यहाँनिर छ, म दावाका साथ भन्छु यो चीनको इशारामा वामपन्थीहरूबीचको एकता प्रयास भएको हो, यसमा प्रत्यक्ष रुपमा चीनले भूमिका खेलेको छ।’
साक्षात्कारमा बोल्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजनैतिक नैतिकता नभएको नेताको संज्ञा दिए ।
उनले भने,‘प्रचण्डसँग थोरैपनि राजनैतिक नैतिकता छैन, यदि त्यसो हुँदो हो त सरकारमा रहेर विपक्षीसँग गएर घाँटी जोड्ने काम गर्नु हुने थिएन, म यहाँबाटै आग्रह गर्छु बचेखुचेको थोरै नैतिकता बाँकी छ भने तत्काल सरकार छोडेर लोकतान्त्रिक मूल्य र मान्यताको सम्मान गर्नुस्, लोकतान्त्रिक गठबन्धन पार्टी एकताको लागि होइन, वाम एकताको विरुद्दमा हो, हामी वाम एकताबाट डराएका होइनौ, यो गठबन्धन अपवित्र छ, यो बाहृय शक्तिको रिमोटबाट बनेको एकताले मुलुक र नेपाली जनताको भलो गर्दैन।’
मुलुकै ठूलो लोकतान्त्रिक शक्ति नेपाली काँग्रेस लगायत ६ दलहरू लोकतान्त्रिक मूल्य मान्यतामा उभिएका उल्लेख गर्दै लालले थपे,‘हाम्रो गठबन्धनले मुलुकलाई सवल बाटोमा लैजाने छ, यो गठबन्धनका सामू वाम एकताले हावा खानेछ।’