नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले वाम गठबन्धनलाई काउण्टर दिनको लागि नै आफूहरूले बृहत्त लोकतान्त्रिक मोर्चा बनाएको स्पष्ट पारेका छन् ।
बिहिबार राजधानीमा आयोजित साक्षात्कारमा डा. खड्काले एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबीचको चुनावी तालमेललाई आफूहरूले नौलो रुपमा नलिएको बताउँदै यो राजनीतिक विकासक्रममा टुट्फुट र जुट भैरहने स्पष्ट पारेका हुन् । उनले भने,‘राजनीतिक ध्रुवीकरणको विषयलाई यसरी उछाल्नु जरुरी छैन।’
साक्षात्कारमा बोल्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आफूलाई दया र सहानुभुति लागेको समेत बताए ।
उनले थपे,‘वास्तवमा मलाई प्रचण्डजीप्रति दया लागेको छ, हुन त उहाँले यो वर्षको दशैंमा (सायद २२ वर्षपछि) होला टिका लगाएर साईत हेरेर माओवाद र कम्युनिज्मको सबै धर्म छोडेर चमत्कार नै गर्नुभयो।’ जनयुद्ध र क्रान्तिको इतिहास बोकेको पार्टी ४० मा खुम्चिनु भनेको क्रमिक रुपमा हराएर जानु नै हो भन्ने उनको दाबी थियो।
एमालेका शीर्ष नेताहरूले समेत आफ्नो पार्टी नै कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो र माओवादी पनि यसमै समाहित भएको भनेर सार्वजनिक अभिव्यक्ति समेत दिएको कुरा उल्लेख गर्दै नेता खड्काले भने,‘हिजोमात्रै एमाले नेता माधव नेपालको अभिव्यक्ति म सुन्दैथिएँ, उहाँले माओवादीलाई होच्याएर बोल्नुभएको छ।’ ०४८ सालदेखि लोकतन्त्रको रैथाने बन्दै आएको एमालेसँग प्रचण्डले पार्टी एकता गर्नुले उनको जुझारु क्रान्तिकारीतामाथि नै प्रश्न उठेको उनको भनाई थियो ।
नेता खड्काले एमाले–माओवादी केन्द्रवीचको चुनावी सहकार्य र एकता प्रयासलाई राँके भुतको संज्ञा समेत दिए । उनले थपे,‘मेरो विचारमा यो गठबन्धन लामो समय जाँदैन, चुनाव आउँदैछ, हेर्दै जानुहोला टिकट वितरणमा सबै देखिहालिन्छ।’
यद्यपी उनले वाम गठबन्धन र तीन पार्टीबीचको एकता प्रयासबाट अहिल्यै नै अत्तालिहाल्नुपर्ने अवस्था भने नरहेको जिकिर गरे । खड्काले भने,‘हुन त हामीले वाम गठबन्धनको काउन्टरमा बृहत्त लोकतान्त्रिक मोर्चा बनाउने निर्णय गरिसकेका छौं।’ खड्काले यो लोकतान्त्रिक गठबन्धनभित्र केही चुनौतीहरू भने अवश्य रहेको स्वीकार गरे। उनले भने,‘लोकतान्त्रिक उम्मेदवारहरूले जित्नुपर्यो।’
यद्यपी उनले कांग्रेस लगायत अन्य पाँच दलहरूबीच बनेको लोकतान्त्रिक गठबन्धन चुनावी एलायन्स मात्रै भएको स्पष्ट पारे। उनले थपे,‘मुलुकमा हुन सक्ने अधिनायवादी खतराबाट बचाउनको लागि र बाहृय शक्तिको प्रभावलाई समेत सन्तुलित बनाउनको लागि यो गठबन्धन बनाएका छौं।’
उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ‘फुर्के’ नेताको संज्ञा समेत दिए । उनले भने,‘उहाँ फुर्के नेता हुन्, अहिले उनमा त्यही देखियो।’
उनले सत्तामा आफूहरूसँग बस्ने र प्रमुख प्रतिपक्षी दलसँग एकता गरेकोले माओवादीले सरकारमा बस्ने नैतिक अधिकार गुमाईसकेको टिप्पणी गरे । उनले भने,‘कि त उनीहरूले राजिनामा दिनुपर्छ, होइन भने हटाइन्छ।’
तर, उनले माओवादी केन्द्रका साथीहरू सरकारमा बसिरहनु चाँही गलत भएको बताए । उनले एमाले–माओवादी केन्द्रका शीर्ष नेताहरू अहिले अंगगणित मिलाउनको लागि रातदिन आन्तरिक बैठकमा सरिक भैरहेको समेत आरोप लगाए ।