प्रधानमन्त्री शेरबहादुर देउवाले परिवर्तित समसामयिक राजनीतिक विषयमा कानून व्यवसायीसँग आवश्यक परामर्श गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले सत्तासाझेदार दलले प्रमुख प्रतिपक्षी दलसँग गठबन्धन र एकताको पहल गरेपछि सरकारको अवस्थाका बारेमा कानून व्यवसायीसँग बुधबार परामर्श लिएका हुन्।
बैठकमा प्रधानमन्त्री देउवाले सरकारमाथि अविश्वासको प्रस्ताव आउँदा वा नआउँदाको अवस्थाका बारेमा जिज्ञासा राखेकोमा वरिष्ठ अधिवक्ता यदुनाथ खनालले जानकारी दिए।
वरिष्ठ कानून व्यवसायीले वर्तमान अवस्थामा निर्वाचनसम्म सरकारमाथि अविस्वासको प्रस्ताव आउँदा नआउँदा कुनै फरक नपर्ने संवैधानिक र कानूनी व्यवस्थाका बारेमा अवगत गराएका थिए।
नेपाली काँग्रेस नेतृत्वको सरकारको प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले मंगलबार प्रमुख विपक्षी दल नेकपा (एमाले)सँग चुनावी गठबन्धन र पार्टी एकताको पहल थालेपछि प्रधानमन्त्री देउवाले सो छलफल गरेका हुन्।
बैठकमा नेपाल बार एशोसियशनका अध्यक्ष शेरबहादुर केसी, महासचिव खम्मबहादुर खाती, वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सूर्य ढुंगेल, प्रेमबहादुर खड्का लगायत एक दर्जन वरिष्ठ कानून व्यवसायी सहभागी थिए।