नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले कम्युनिष्टहरू मिल्नुको अत्यन्तै स्वागत योग्य कुरा भएको भन्दै प्रशंसा गरेका छन् । मङ्गलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले भने,‘उहाँहरू मिल्नु त खुशीको कुरा हो, यसमा हामी स्वागत नै गर्छौं।’
उनले कांग्रेस पनि अब विचार मिल्ने शक्तिहरूसँग एकताबद्ध भएर अघि बढ्ने विश्वास दिलाए । उनले भने,‘हामीसँग मुद्दा मिल्ने शक्तिहरूसँग एकताबद्ध भएर अघि बढ्छौं।’ नेता खतिवडाले वामपन्थीहरूको एकता आफूहरूले यसअघिका ०५४, ०६४ र ०७० को चुनावमा देखेको भन्दै कांग्रेस यसबाट नआत्तिने स्पष्ट पारे । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आत्तिएर माओवादीलाई ६० र ४० को भागबण्डाको प्रस्ताव गरेको समेत उनको आरोप थियो ।
उनले मुलुक अहिले कांग्रेसको सिद्धान्तको नेतृत्वमा रहेकोले कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको, कांग्रेसकै नेतृत्वमा २० वर्षपछि स्थानीय तहको निर्वाचन सम्पन्न भएको र अहिले संविधान कार्यान्वयनको चरण रहेकोले अब हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पनि जनताले आफ्नो पार्टीलाई पहिलो शक्ति बनाउने विश्वास दिलाए ।
उनले भने,‘ढुक्क हुनुहोस्, फेरि पनि जनताले कांग्रेसलाई प्रिय पार्टी बनाउनुहुनेछ।’
त्यस्तै, उनले चुनावअघि शेरबहादुर देउवा नेतृत्वको सरकार परिवर्तन नहुने समेत स्पष्ट पारे । खतिवडाले भने,‘आज बिहानमात्रै प्रधानमन्त्री र प्रचण्डजीबीच एक घण्टा छलफल भएको छ, यही सरकारले चुनाव गराउने सहमति भएको छ।’