नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादी केन्द्रबीच हुन लागेको एकता र तालमेलको छलफलमा सहभागी हुन संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई आग्रह गरेका छन्।
यादवसँग भेटेर अध्यक्ष ‘प्रचण्ड’ले एक घण्टा छलफल गरेका हुन्। छलफलको विषय नखुलाएपनि संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवले एकता र तालमेलमा आउन प्रचण्डले प्रस्ताव गरेको बताए।
'हामीलाई पनि त्यो एकतामा आउन प्रस्ताव गरिएको छ। एकता सकारात्मक कुरा हो। हामी छलफल गर्छौँ', यादवले सेतोपाटीसँग भने, 'प्रचण्डसँग गोप्य छलफल भएको हो। सबै कुरा भन्न मिल्दैन।'
उनले एकता प्रक्रियामा सामेल हुने प्रचण्डले गरेको आग्रहलाई सकारात्मक भएको टिप्पणी गरे। साथै उनले पार्टीमा छलफल गर्ने बताए। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आजै एकता प्रक्रिया अगाडि बढाउनेदेखि चुनावी तालमेलका विषयमा समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी छ।