नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग 'वान टू वान' वार्ता गरेका छन्।
नेकपा एमालेसँग पार्टी एकीकरण तथा संघ र प्रदेशको चुनावमा तालमेलको निर्णय लिनु अघि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन्।
बालुवाटारमा अध्यक्ष प्रचण्डले देउवासँग आधा घण्टा एक्लै कुराकानी गरेका हुन्। स्रोतका अनुसार दुई नेताबीच दिउँसो पुन: छलफल हुनेछ।
माओवादी केन्द्र कांग्रेस नेतृत्वको वर्तमान सरकारको प्रमुख साझेदार हो। एमालेसँग एकीकरण र तालमेल नजिक पुगेको माओवादी केन्द्रले सत्ताको साथ नछाड्ने प्रतिबद्धता कांग्रेससँग गर्दै आएको छ। अध्यक्ष दाहाल पार्टीको सचिवालय बैठक सकेर देउवालाई भेट्न पुगेका हुन्।
सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले एकीकरणका विषयमा छलफलबारे ब्रिफिङ गरेका थिए। नेकपा एमाले र माओवादी केन्द्रबीच सम्भवत आजै पार्टी एकीकरण र तालमेलका विषयमा समझदारी पत्रका हस्ताक्षर हुनेछ।