राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनिष सुमनले अबको निर्वाचनमा आफ्नो पार्टीले संघीय समाजवादी फोरम नेपालसँग चुनावी तालमेल गर्ने भनेर पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने,‘हामी अबको निर्वाचनमा मुलतः मधेश केन्द्रीत दलहरूसँग नै तालमेल गर्छौं, त्यसको लागि पहिलो प्राथमिकतामा उपेन्द्रजीको फोरम नेपाल नै हो।’
त्यस्तै, उनले संविधान संशोधन पक्षधर शक्तिहरूसँग पनि आफूहरूको तालमेल हुने जनाए।
महासचिव सुमनले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा राजपा र फोरम नेपालबीचको अन्तर खासै नभएको र दुवै पार्टीबीच तालमेल नभएकोले त्यसको फाइदा अरुले उठाएको बताउँदै अब त्यस्तो गल्ती गर्न नहुने धारणा राखे ।
उनले आफूहरू शतप्रतिशत स्थानमा तालमेल गर्ने पक्षमा रहेको समेत जनाए । यद्यपी तालमेल हुन नसकेको स्थानमा भने स्वस्थ प्रतिस्पर्धा हुने उनको विश्वास थियो ।