प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावी प्रचारमा जाने स्पष्ट पारेका छन् ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुराको जानकारी दिएका हुन् ।
कार्यक्रममा बोल्दै ज्ञवालीले भने,‘केन्द्रीय समितिको बैठकमा पनि धेरै साथीहरूले यही कुरा उठाउनुभएको छ, अब बस्ने स्थायी कमिटीको बैठकले यसबारेमा निर्णय लिन्छ।’
नेता ज्ञवालीले पनि अबको निर्वाचन आफ्नो पार्टीले आफ्नै खुट्टामा र बलबुतोमा लड्ने तागत राख्ने बताए । यद्यपी उनले मुलुकलाई राजनीतिक अस्थिरताबाट बाहिर ल्याउनको लागि र स्थायित्व कायम गर्नको लागि बृहत्तर राष्ट्रवादी, वामपन्थी र प्रगतिशील शक्तिहरूसँग गठबन्धन बनाउने पार्टीले निर्णय लिएको सुनाए ।
ज्ञवालीले एमालेले एक्लै सरकार बनाउने सक्ने भएपनि मुलुक र जनतालाई बृहत्तर राजनीतिक एकता आवश्यकता भएकोले आफूहरूले यस्तो प्रस्ताव अघि सारेको बताए । यद्यपी उनले यसबारेमा अन्य पार्टीहरूको धारणाा कस्तो आउँछ त्यो भने हेर्न बाँकी नै रहेको स्पष्ट पारे।
त्यस्तै, उनले आफ्नो पार्टीले कसैको गठबन्धन भत्काउन नखोजेको समेत स्पष्ट पारे । उनले भने,‘हामी कसैको गठबन्धन भत्काउन चाहाँदैनौं, किनकी उहाँहरूको त्यो गठबन्धनलाई हामीले फेस गरेर नै आएको हो, हामी त देश हितको लागि राष्ट्रिय एकता बलियो बनाउनको लागि यस्तो प्रस्ताव गरिरहेका छौं।’
उनले कांग्रेससँग भने आफूहरूको कुनै तालमेल नै नहुने जिकिर गरे । ज्ञवालीले थपे,‘कांग्रेसको घोषित नीति नै दुई वटा पार्टी मिल्नै हुँदैन भन्ने छ, त्यसैले हामी उहाँहरूसँग स्वस्थ प्रतिष्पर्धा गर्छौं।’