प्रमुख दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. प्रकाशशरण महतले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा एमाले बाहेकका परिवर्तन एवम् संविधान संशोधनका पक्षधर शक्तिसँग तालमेल गर्ने बताएका छन् ।
सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेता महतले राष्ट्रिय मुद्दामा साझा दृष्टिकोण राख्ने परिवर्तनकारी शक्तिहरूसँग चुनावमा तालमेल गर्ने बताएका हुन् । उनले भने,‘हुन त कांग्रेस आफ्नै बलमा निर्वाचन लड्छ, तर राष्ट्रिय मुद्दामा समान दृष्टिकोण राख्ने र स्थानीय तहको आवश्यकता अनुसार हामी चुनावी गठबन्धन बनाउँछौं, तर एमालेसँग अहिले तालमेल हुँदैन।’
साक्षात्कारमा बोल्दै उनले प्रमुख प्रतिपक्षी दल एमालेले समुदायबीच फाटो ल्याउने र राष्ट्रिय एकतामा विभाजन ल्याउने काम गरेको समेत आरोप लगाए । उनले थपे,‘एमालेले समूह समूहबीच विभाजन ल्याउने काम गर्यो, संविधान संशोधनप्रति उसको दृष्टिकोण नै अर्को रह्यो, त्यसैले तत्कालीन अवस्थामा एमालेसँग सहकार्यको कुनै संभावना छैन।’ यद्यपी उनले एमालेसँग स्वस्थ प्रतिष्पर्धा हुने विश्वास दिलाए ।
नेता महतले एमालेले अहिले कायम रहेको कांग्रेस–माओवादी केन्द्रबीचको गठबन्धन तोड्ने प्रयास गरेपनि त्यो संभव नरहेको जिकिर गरे । उनले भने,‘माओवादीले हामीसँगको गठबन्धन तोड्ला भनेर हामीले अपेक्षा गरेकै छैन, हामीबीचको समझदारी तोड्न खोज्नेहरू नै असफल हुन्छन्।’
उनले एमालेले तत्कालीन फाइदाको लागि मात्रै हेर्ने गरेको र त्यही स्वार्थ अनुसार नै रणनीति अपनाइरहेको आरोप लगाए ।
त्यस्तै, उनले तोकिएकै समयभित्र पार्टीले उम्मेदवारको टुँगो लगाउने विश्वास दिलाए । उनले भने,‘१७ गतेभित्र जिल्लाबाट नाम आउनुपर्छ, आएन भने पार्टीले कडा एक्सन लिन्छ।’ महतले भोलि वा पर्सि नै केन्द्रीय समितिको बैठक बसेर संसदीय बोर्ड गठन गर्ने समेत जनाए ।
एमालेले हिजो गरेको तालमेलसम्बन्धीको निर्णयबारे प्रतिक्रिया दिँदै महतले भने,‘अब उहाँहरूले राष्ट्रभक्तिसँग तालमेल गर्ने अरे, यो देशमा हामीभन्दा बढी राष्ट्रभक्ति र राष्ट्रवादी उहाँहरु ?, म त भन्छु हामीभन्दा ठूलो राष्ट्रवादी अरु कोही छैन्।’