माओवादी विद्रोहको उद्गम रोल्पाबाट माओवादी केन्द्रका तर्फबाट वर्षमान पुन प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्ने भएका छन् ।
रोल्पा जिल्ला कमिटीले वर्षमानको नाम सर्वसम्मतले चयन गरेको छ । दोस्रो संविधानसभाको निर्वाचनमा पुन मोरङ क्षेत्र नम्बर ९ बाट पराजित भएका थिए । पहिलो संविधानसभामा भने वर्षमानले ललितपुर क्षेत्र नम्बर ३ बाट जितेका थिए ।उनी अर्थमन्त्री र शान्ति तथा पुनर्निर्माण मन्त्री पनि भइसकेका छन् ।
यसअघि रोल्पामा दुईवटा निर्वाचन क्षेत्र रहेका थिए । दोस्रो संविधानसभामा रोल्पाका दुई क्षेत्रबाट कृष्णबहादुर महरा र ओनसरी घर्ती विजयी भएका थिए ।
माओवादी शान्ति प्रक्रियामा आएपछि भएका दुवै निर्वाचनमा माओवादी केन्द्र विजयी हुँदै आएको छ । पहिलो संविधानसभामा भने रोल्पाबाट पुष्पकमल दाहाल र जयपुरी घर्ती निर्वाचित भएका थिए । दाहालले रोल्पा छोडेपछि भएको उपनिर्वाचनमा सन्तोष बुढा मगर विजयी भएका थिए। उनी अहिले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा रहेका छन् ।
वर्षमान रोल्पाबाट उठ्ने भएपछि सभामुख ओनसरी घर्ती भने समानुपातिकमा उठ्ने भएकी छन् । यस पटकको निर्वाचनमा ओनसरी समानुपातिक तर्फबाट उम्मेदवार बन्ने निश्चित भएको सभामुख निकट स्रोतले सेतोपाटीलाई बताएको छ।
उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कृष्णबहादुर महरा दाङ झर्ने भएका छन् । उनले दाङ क्षेत्र नम्बर २ रोजेका छन् । ‘औपचारिक रुपमा तय भइसकेको छैन तर दाङ क्षेत्र नम्बर २ बाट उठ्ने तयारी भएको छ’महराका छोरा राहुल महराले सेतोपाटीसँग भने ।
महरा पहिलो संविधानसभाको निर्वाचनमा पनि दाङबाट नै विजयी भएका थिए ।