नेकपा (एमाले) नुवाकोटले आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि एक हजार ५५ सदस्य रहेको निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
सदरमुकाम विदुरमा बसेको १२ अौँ जिल्ला कमिटीको पूर्ण बैठकले पार्टी अध्यक्ष नारायणप्रसाद खतिवडाको अध्यक्षतामा कमिटी गठन गरेको एमाले नुवाकोटका प्रचार विभाग प्रमुख वासुदेव कडुवालले जानकारी दिए।
आगामी मंसिर १० गते हुने लागिरहेको निर्वाचनको मतपरिणाम आफ्नो पक्षमा बनाउन निर्वाचन परिचालन, जनपरिचालन, पार्टीको कार्यसूची प्रचारप्रसारलगायत प्रचारात्मक कामका लागि परिचालन कमिटी गठन गरी सचिवालयसमेत गठन गर्ने निर्णय भएको छ ।
बैठकले राज्य पुनःसंरचनानुसार जिल्ला कायम भएका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रका लागि संयोजक र इञ्चार्जसमेत चयन गरेको छ ।
निर्वाचनका लागि उम्मेदवारको नामावली संकलन, उम्मेदवारको प्रस्ताव, चुनावी प्रचारप्रसारलगायत अभियान सञ्चालन गर्न संयोजक र इञ्चार्ज चयन गरिएको जनाइएको छ ।
कडुवालका अनुसार स्थानीय तहको निर्वाचनमा ‘सदस्य संख्याका आधारमा सबैभन्दा ठूलो दल भएको एमाले’ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जीत हासिल गर्न क्षेत्रगत रुपमा तालमेलको समेत प्रयास गरिरहेको छ ।