बाराको कलैया उपमहानगरपालिकाका मेयरका उम्मेदवारबीच ठूलै घम्साघम्सी परेको छ ।
बिहीबार कलैयामा आयोजित विशेष चुनावी अन्तरक्रियालाई सम्बोधन गर्ने क्रममा मेयरका उम्मेदवारबीच आरोप–प्रत्यारोप चलेको हो ।
उक्त साक्षात्कारमा बोल्दै नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार मुकेश साहले उक्त उपमहानगरलाई समृद्ध बनाउने उद्घोष गरे । उनले त्यतिमात्रै नभएर कलैयालाई पूरै कायापलट गर्ने समेतको वचनबद्धता जनाए ।
त्यस्तै, उनले कलैयाका सडक, स्वास्थ्य, शिक्षा, बाटोघाटो र नगरलाई समृद्ध बनाई छाड्ने प्रतिबद्धता व्यक्त गरे । साहले कलैयलाई ग्रीन सिटीको रुपमा आफूले विकास गर्ने समेत विश्वास दिलाए ।
संघीय समाजवादी फोरमका मेयरका उम्मेदवार प्रमोद गुप्ताले ठूला पार्टीहरू कांग्रेस, एमाले र माओवादी केन्द्रले मुलुकमा गतिरोध कायम राखेको आरोप लगाए ।उनले भने,‘ठूला पार्टीहरूले मुलुकमा सधैँ अस्थिरता बनाएका छन्, मुलुकलाई अल्झाएर राखेका छन्, त्यसैले यिनीहरूबाट विकासको अपेक्षा गर्नु भनेको मुर्खता बाहेक अरु केही होईन।’
गुप्ताले प्रमुख प्रतिपक्षी दल एमालेले जहिल्यै पनि मधेश विरोधी भएको अारोप लगाए । उनले भने,‘एमालेले जहिले पनि मधेशलाई हेप्ने काम गर्यो, कहिले धोती भन्यो त कहिले कालो भन्ने, विखण्डनको अवस्थामा ल्यायो, यसैले मधेशमा एमालेको कुनै हक छैन, उसले भोट माग्न पनि लाज मान्नुपर्ने हो।’
त्यस्तै नेपाल लोकतान्त्रिक फोरम मोहम्मद सामी मियाँ ठकुराईले नगरको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले आफू सबैभन्दा पूरानो मेयरका उम्मेदवार भएको उल्लेख गर्दै भने,‘यो उपमहानगरका हरेक गाउँलार्ई सहरसँग जोडेर अघि बढाउँछु । जनतालाई अनुभूत हुने खालका विकास र समृद्धि दिलाएर छाड्छु।’
कार्यक्रममा कांग्रेसका उम्मेदवार राजेश यादव र एमालेको विनोद साह भने आएनन् ।
दुवै उम्मेदवारहरू नआएपछि त्यहाँका स्थानीय जनता आक्रोशित बनेका थिए । हुन पनि कांग्रेस र एमालेका मेयरका उम्मेदवारहरूले पटक–पटक उक्त कार्यक्रममा आउने भनेर सार्वजनिक प्रतिबद्धता जनाएका थिए ।