युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलकुदकै माध्यमबाट मुलुकमा अनुशासित नागरिक बनाउन सरकार लागि परेको बताएका छन् ।
मन्त्री केसीले मुलुकको प्रतिष्ठालाई अझै उचाईमा पुर्याउन नेपाली खेलाडीहरू सक्षम हुने विश्वास व्यक्त गरे।
बिहिबार आगामी असोज १२ गतेदेखि १५ गतेसम्म क्यानडामा आयोजना हुने ‘सातौं कराँते डो गोजु काई ग्लोबल च्याम्पियनसीप प्रतियोगिता’ मा सहभागी हुने खेलाडीहरूको बिदाई समारोहमा बोल्दै उनले सरकार खेलकुदकै माध्यमबाट मुलुकको प्रतिष्ठा उचाईमा पुर्याउन क्रियाशील रहेको दाबी गरे ।
मन्त्री केसीले सरकार नेपालका प्रतिभावान खेलाडीहरूलाई आवश्यक सेवा सुविधा उपलब्ध गराएर राष्ट्रलाई विश्वभर परिचित गराउन लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
प्रतियोगितामा नेपाल गोजुकाई कराँते डो संघको तर्फबाट ५ जना खेलाडीहरू नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुनेछन ।
प्रतियोगितामा टिम म्यानेजरको जिम्मेवारी अशोककुमार पाण्डेलाई दिइएको छ । त्यसैगरी इन्द्रबहादुर शाही खड्गेलाई रेफ्री, श्यामकृष्ण बाटा कोचको रुपमा प्रतियोगितामा सहभागी हुनेछन् ।