राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनमा भाग लिने भएको छ।
पहिलो र दोस्रो चरणको निर्वाचनमा संविधान संशोधन नभएसम्म सहभागी नहुने अडान राजपाले राखेको थियो। तर, भदौ ५ गते संविधान संशोधन संसदबाट फेल भएपछि राजपा चुनावमा भाग लिने कि नलिने भन्ने अन्यौलमा परेको थियो। दुई दिनसम्म भएको राजपाको पदाधिकारी बैठकमा बोल्ने अधिकांश पदाधिकारीहरूले निर्वाचनमा भाग लिनुपर्ने धारणा राखेका हुन्।
औपचारिक निर्णय गर्ने जिम्मेवारी भने पदाधिकारी बैठकले अध्यक्ष मण्डललाई दिएको छ।
‘निर्वाचनमा जाने मोटामोटी निर्णय भइसकेको छ। अध्यक्ष मण्डलले यसलाई औपचारिकता दिन्छ,’ राजपा महासचिव चन्दा चौधरीले सेतोपाटीसँग भनिन् ‘उम्मेद्वारी तय र निर्वाचन चिन्हबारे पनि अध्यक्ष मण्डलले एउटा खाका तयार पार्छ।’
उम्मेद्वारको चयनका लागि अध्यक्ष मण्डलले आवश्यकता अनुसार पदाधिकारीहरूसँग समेत छलफल गर्ने चौधरीले बताईन्। जिल्ला अध्यक्ष र क्षेत्रीय अध्यक्षहरूसँगको समन्वयमा उम्मेद्वारको तय गर्ने उनले बताईन्। अधिकांश पदाधिकारीहरूले निर्वाचनमा जानुपर्ने धारणा राखेकोले अध्यक्ष मण्डलले निर्वाचनमा जाने नजाने विषयमा औपचारिक निर्णय गर्ने राजपाका अर्का महासचिव केशव झाले सेतोपाटीलाई बताए।
स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा राजपाका नेता कार्यकर्ता स्वतन्त्र हैसियतमा सहभागी भएका थिए। जसका कारण राजपाभित्र आन्तरिक रुपमा पनि निर्वाचनमा सहभागिताका लागि दबाब छ। अध्यक्ष मण्डलले निर्वाचनको सहभागिताबारे औपचारिक निर्णय गर्ने भएपनि तयारी कसरी गर्ने भन्ने विषयमा छलफल टुङ्ग्याएको छ।
‘निर्वाचनमा लड्नको लागि उम्मेद्वारको विधि कसरी तय गर्ने भन्ने निर्णय अध्यक्ष मण्डलले गर्छ,’ उनले भने,‘निर्वाचनको बेलामा नेताहरूलाई कसरी परिचालन गर्ने? कुनकुन ठाउँमा खटाउने लगायतका निर्णय पनि अध्यक्ष मण्डलले गर्नेछ।’ पार्टीको घोषणा पत्र लेखन,निर्वाचनको प्रचार प्रसार र आर्थिक समितिको गठन लगायतका कामहरू पनि हुने उनले बताए।
निर्वाचनमा जानका लागि संशोधन विधेयकलाई संसदमा निर्णयार्थ पेश गर्नुपर्ने अडान राजपाले लिएको थियो। संशोधन विधेयक अस्वीकृत भएपनि झण्डै दुई तिहाई सांसदले आफूहरूको एजेण्डालाई समर्थन गरेको भन्दै राजपाले यसलाई राजनीतिक जीतको रुपमा लिएको छ।
अागामी असोज २ गते प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमा तेस्रो चरणको निर्वाचन हुँदैछ ।