राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अधिकांश पदाधिकारीहरू निर्वाचनको पक्षमा उभिएका छन्।
मंगलबारदेखि सुरू भएको राजपा पदाधिकारी बैठकमा बोल्ने सबैजसो पदाधिकारीले निर्वाचनमा जानुको विकल्प नरहेको धारणा राखेका थिए। केही पदाधीकारीले भने निर्वाचनमा नगइ संसदबाट राजीनामा दिएर आन्दोलनमा जानुपर्ने धारणा राखेका थिए।
१ सय ३३ जना पदाधिकारी रहेको रापजाका ९८ जना उपस्थित थिए। आजको बैठकमा ५३ जनाले आफ्ना धारणा राखेका थिए। जसमध्ये ५० जनाले निर्वाचनको पक्षमा बोलेको राजपाका महासचिव केशव झाले सेतोपाटीलाई बताए ।
केन्द्र र प्रदेशको निर्वाचनमा जे गरे पनि स्थानीय तहको निर्वाचनमा भाग लिनैपर्ने धेरैको धारणा रहेको राजपाकी वरिष्ठ नेता निर्जला राउतले सेतोपाटीलाई बताइन्।
उनले मधेसको एजेन्डा लिएर निर्वाचनमा जानुपर्ने बताइन्।
संविधानमा त्रूटी छ भन्ने कुरा संसदको झण्डै दुई तिहाइले स्वीकार्नु मधेसको राजनीतिक जित रहेको धारणा आएको राजपा सचिव राजाराम पासवानले बताए।
‘संविधानमा त्रुटि छ भन्ने हामी पहिला १० प्रतिशत मात्र थियौ यो संख्या अहिले ६२ प्रतिशत पुगेको छ,’ उनले भने,‘हामी हाम्रो यो मुद्दालाई लिएर जनतामा जानुपर्ने धारणा धेरैले राखेका छन्।’
मतदान गर्नेलाई धन्यवाद राजपाको बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने सांसदहरूलाई धन्यवाद दिएको छ। मतदानको नतिजा जे आएको भए पनि एउटा प्रक्रिया पुरा भएको केशव झाले जानकारी दिए। संविधान संशोधनको विपक्षमा मतदान गर्नेहरू लोकतन्त्र र राष्ट्रिय एकता विरोधी भएको ठहरसमेत बैठकले गरेको उनले बताए।
महन्त ठाकुरका पाँच प्रस्ताव राजपा अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरले बैठकमा पाँच वटा प्रस्ताव राखेका थिए। संविधान संशोधन अस्वीकृत भएको छ अब कसरी अघि बढ्ने भन्ने उनको पहिलो प्रस्ताव थियो। चुनावमा जानेकि नजाने भन्ने दोस्रो प्रस्ताव थियो भने तेस्रो प्रस्ताव उमेद्वार चयन सम्बन्धी छ। चुनाव चिन्ह कुन लिने र प्रचारप्रसार समिति, आर्थिक समिति, विधान समिति लगायतको गठनबारे पनि छ।
बैठक बुधबार पनि चल्नेछ। मंगलबारको बैठकमा अध्यक्ष मण्डलका सदस्य अनिल झा अनुपस्थित थिए। स्रोतका अनुसार उनी निकटका पदाधिकारीले निर्वाचन बहिष्कार गरेर आन्दोलनमा जानुपर्ने धारणा राखेका छन्।
कतिपय पदाधिकारीले भने विनाशकारी बाढीको कारणले अहिले आन्दोलन भन्दा पनि राहत र पुननिर्माणमा लाग्नुपर्ने धारणा राखेका थिए।