अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सचिवालयले सोमबार छलफलको लागि आउँदा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुट लगाउँछन् कि लगाउँदैनन् भनेर सोधेको छ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलसँग अमेरिकाको अलास्कामा शुक्रबार छलफल गरेपछि ट्रम्पले सोमबार ह्वाइट हाउसमा जेलेन्स्की र युरोपेली नेताहरूसँग कुरा गर्दैछन्।
युरोपेली नेताहरूसँग कुरा गर्नुअघि ट्रम्पले पहिले जेलेन्स्कीसँग मात्रै भेट्ने कार्यक्रम छ। सो भेटका लागि जेलेन्स्कीले सुट लगाउँछन् कि लगाउँदैनन् भनेर युक्रेनी अधिकारीलाई सोधेको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
फेब्रुअरी अन्त्यमा ह्वाइट हाउसमा ट्रम्पले जेलेन्स्कीलाई झपार्नुका कारणहरूमध्ये जेलेन्स्कीले सो भेटमा सुट नलगाउनु पनि एक भएको मानिन्छ। दुई देशका राष्ट्र प्रमुखहरूको भेटमा जेलेन्स्कीले औपचारिक पहिरन लगाऊन् भन्ने ट्रम्पको चाहना रहेको मानिन्छ। ट्रम्पको सचिवालयले त्यति बेला पनि जेलेन्स्कीले सुट लगाएको भए राम्रो हुन्थ्यो भनेर युक्रेनी अधिकारीलाई भनेको समाचार आएको थियो।
रूसले २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेदेखि नै आफ्नो देश युद्ध लडिरहेको छ भनेर सन्देश दिन जेलेन्स्कीले सैन्य पहिरन लगाउने गर्छन्। अरू बेला मात्रै नभएर औपचारिक रूपमा विदेशी सरकार प्रमुखहरूलाई भेट्दा पनि सैन्य पोशाक नै लगाउने गर्छन्। त्यसैले उनले ट्रम्पसँग भेट्दा पनि त्यही पहिरन लगाएका थिए। सो भेटका लागि जेलेन्स्कीलाई ह्वाइट हाउसमा स्वागत गर्दा नै ट्रम्पले उनको पहिरनबारे टिप्पणी गरेका थिए।

यसपटक पनि सोमबारको भेटअघि ट्रम्पको सचिवालयले जेलेन्स्कीको पहिरनबारे सोधेको हो। यसपटक भने जेलेनस्कीले सैन्य पहिरन नभएर कालो ज्याकेट लगाउने भनेर युक्रेनी स्रोतहरूको हवाला दिँदै एक्सियसले जनाएको छ। जुनमा नेदरल्याण्ड्सको हेगमा भएको नेटोको शिखर सम्मेलनमा पनि जेलेन्स्कीले कालो ज्याकेट लगाएका थिए।
जेलेन्स्की दुइवटा काम गरे साढे तीन वर्षदेखि जारी युद्ध तत्काल अन्त्य हुने भनेर भेटअघि ट्रम्पले बताएका छन्।
पहिलो, युक्रेनले सन् २०१४ मा रूसले अवैध रूपमा कब्जा गरेको क्राइमियामाथिको दाबी छाड्ने र दोस्रो, युक्रेन कहिल्यै नेटो सैन्य गठबन्धनमा सामेल नहुने।
'युक्रेनका राष्ट्रपति जेलेन्स्कीले चाहेमा रूससँगको युद्ध लगभग तुरून्तै अन्त्य गर्न सक्छन् वा लडाइँ जारी राख्न सक्छन्। याद गर्नुहोस् यो कसरी सुरू भयो। ओबामाले १२ वर्षअघि एउटा गोली पनि नचलाई क्राइमिया दिए। र युक्रेन नेटोमा नजाने कुरा,' ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्।
उनले युद्ध अन्त्यका लागि युद्ध सुरू कहाँबाट भयो भन्नेमा जानुपर्ने र त्यहीँबाट समस्या समाधान गर्नुपर्ने बताए।
ट्रम्पले भनेका ती विषय पुटिनले युद्ध अन्त्यका लागि राख्दै आएका प्रमुख शर्तहरू हुन्।
युरोपेली नेताहरू ह्वाइट हाउस पुग्नुअघि ट्रम्पले यस्तो स्टाटस लेख्नुलाई उनले युक्रेनमाथि कति दबाब हाल्न सक्छन् भन्ने आकलन गर्न सकिने अमेरिकी मिडिया सिएनएनले उल्लेख गरेको छ।
ट्रम्पले जेलेन्स्कीलाई पुटिनले अघि सारेका शर्तहरू स्वीकार गर्न दबाब दिन सक्छन् भन्ने उनीहरूलाई डर छ।
अर्कातर्फ रूसले फेरि युक्रेनमा आक्रमण नगरोस् भनेर सुरक्षा प्रत्याभूति दिन ट्रम्प तयार हुन सक्ने देखिन्छ।
ट्रम्पले युरोपेली नेताहरूलाई युक्रेनलाई अमेरिकी सुरक्षा प्रत्याभूति दिन आफू तयार रहेको बताएको भनेर समाचार आएका छन्। युद्ध अन्त्यका लागि आफ्नो कब्जामा रहेको क्राइमिया र डोनबास क्षेत्र लगायत युक्रेनी भूभाग रूसी भूमि भएको मान्यता दिनु पर्ने माग पुटिनले ट्रम्पसँग राखेका थिए।
अहिलेसम्म रूसले कब्जा गरेको युक्रेनी भूभाग मात्र नभएर आफ्नो नियन्त्रणमा नभएका डोनबास क्षेत्रको केही भागको पनि स्वामित्व दिनुपर्ने पुटिनले माग गरेका छन्।
जेलेन्सकीले त्यस्तो माग अमान्य हुने बताइसकेका छन्। तर अमेरिकी सुरक्षा प्रत्याभूति भने युक्रेनका लागि महत्त्वपूर्ण हुनेछ।
शान्ति सम्झौताका लागि रूसले फेरि युक्रेनमा आक्रमण नगरोस् भनेर प्रत्याभूतिको माग युक्रेनले मुख्य रूपमा उठाइरहेको छ।
युक्रेनमा फेरि रूसले आक्रमण नगरोस् भनेर आफ्ना ३० हजार सैनिक राख्न बेलायत र फ्रान्स तयार छन्। शान्ति सम्झौतालाई दिगो बनाउनका लागि युक्रेनमा पश्चिमी सेनाको उपस्थिति आवश्यक हुने कुरा पुटिनले आफूसँगको छलफलमा स्वीकारेको ट्रम्पले जेलेन्स्की र युरोपेली नेताहरूलाई बताएका छन्।
अमेरिकाले नै त्यस्तो सुरक्षा प्रत्याभूति दिन समेत आफू तयार रहेको पनि ट्रम्पले जानकारी गराएका छन्। अमेरिकाले त्यस्तो सुरक्षा प्रत्याभूति दिने कुरामा यसअघि ट्रम्प तयार थिएनन्।
बेलायत, फ्रान्स लगायत युरोपेली देशका सेना युक्रेनमा राखेर दिने प्रत्याभूतिमा अमेरिकाको पनि सहभागिता हुनुपर्ने जेलेन्सकीले माग गर्दै आएका छन्। तर ट्रम्प त्यसका लागि तयार थिएनन्। तर अब भने युरोपेली देशका सेनालाई अमेरिकाले प्राविधिक र बन्दोबस्तीमा सहयोग गर्न ट्रम्प तयार भएको बताएका छन्।
अमेरिकी सेना नै युक्रेनमा राख्ने कुरामा भने उनी तयार देखिँदैनन्। अमेरिकी सेना युक्रेनमा नराखे पनि त्यहाँ रहने युरोपेली सेनालाई अमेरिकाले सैन्य सहायता दिने प्रत्याभुति दिने हो भने युक्रेनको प्रमुख माग पुरा हुनेछ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)