लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेताबाट राजीनामा दिएका अनिलकुमार झाले नेपाल सद्भावना पार्टी ब्युँताएका छन्।
झाले लोसपा वरिष्ठ नेता र साधारण सदस्यसमेतबाट दिएको राजीनामा अध्यक्ष महन्थ ठाकुरले हालै स्वीकृत गरिदिएका थिए।
लोसपा छाडेपछि झाले आफ्नो पुरानो पार्टी नेपाल सद्भावना पार्टी ब्युँताएका हुन्। उनले सद्भावना पार्टी अद्याविधक गर्न निर्वाचन आयोगमा निवेदनसमेत दिएका थिए।
अनिलकुमार झा पहिले पनि नेपाल सद्भावना पार्टीका अध्यक्ष थिए। उनले उक्त पार्टी राष्ट्रिय जनता पार्टी (राजपा) मा मिसाएका थिए। तर राजपा धेरै चलेन। त्यसपछि उनी लोसपामा सक्रिय थिए।
पछिल्लो समय लोसपामा निस्क्रिय रहेका झाले लोसपा परित्याग गर्दै नेपाल सद्भावना पार्टी ब्युँताएका हुन्।
आफ्नो नेतृत्वमा निर्वाचन आयोगले नेपाल सद्भावना पार्टीलाई अद्यावधिक गर्ने निर्णय गरिसकेको झाले सेतोपाटीलाई बताए।
‘लोसपा छाडेर म मातृ पार्टी नेपाल सद्भावना पार्टीमै फर्किएँ, निर्वाचन आयोगले मेरो नेतृत्वमा नेपाल सद्भावना पार्टीलाई अद्यावधिक गरिदिने मंगलबार निर्णय गरिदिएको छ, पत्र लिन आज पार्टीका एक जना जाँदै हुनुहुन्छ, थप कुरा हामी पत्रकार सम्मेलन गरेर जानकारी गराउँछौं,’ उनले भने।
नेपाल सद्भावना पार्टीको अध्यक्षमा झा र केन्द्रीय समिति ९१ सदस्यीय छ। ‘मेरो अध्यक्षतामा पदाधिकारी र केन्द्रीय समिति सबै अद्यावधिक भइसकेको छ,’ उनले भने, ‘म पहिले पनि सद्भावना पार्टी अध्यक्षकै हैसियतमा थिएँ, राजपामा एकीकरण गरेको हो तर त्यो धेरै चल्न सकेन, अरू नेताहरू पनि मातृ पार्टीमै फर्कनुभयो, म पनि मातृ पार्टीमै फर्किएको हुँ।’
उनले झण्डा र चुनाव चिह्न पुरानै रहेको बताए। ‘झण्डा र चुनाव चिह्न नेपाल सद्भावना पार्टीकै रहेको छ,’ उनले भने। नेपाल सद्भावना पार्टीको चुनाव चिह्न पाँच औंला देखिने एउटा हात हो।