रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त रहेको प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिमा नयाँ सभापतिको खोजी सुरू भएको छ।
कुलिङ अफ पिरियड सम्बन्धी त्रुटिमा नैतिक जिम्मेवारी लिँदै सभापति खतिवडाले मंगलबार राजीनामाको घोषणा गरेका थिए।
सभामुख देवराज घिमिरेले समितिमा विधेयकहरू माथिको छलफल प्रभावित भएको उल्लेख गर्दै छिटोभन्दा छिटो नाम दिन नेपाली कांग्रेसलाई आग्रह गरिसकेका छन्।
प्रतिनिधि सभा र राष्ट्रिय सभाका समितिहरूको भागबण्डाका क्रममा दलीय सहमतिका आधारमा नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको जिम्मेवारी पाएको थियो।
कांग्रेसको जिम्मेवारीमा रहेको समितिमा नेकपा एमालेले आफ्नो दाबी नरहेको स्पष्ट पारिसकेको छ।
त्यसैले कांग्रेसभित्र नयाँ सभापति बन्ने व्यक्तिको खोजी सुरू भएको हो।
राज्य व्यवस्था समितिमा रामहरि खतिवडासहित नेपाली कांग्रेसका ९ जना सांसद छन्।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा समितिका सदस्य छन्। त्यस्तै संसदीय सुनुवाइ समितिकी सभापति रहेकी ईश्वरदेवी न्यौपाने पनि समितिमा छन्। त्यसैगरी दिलेन्द्र बडू, हृदयराम थानी, अम्बिका बस्नेत र सरिता प्रसाईसहित कांग्रेसका तर्फबाट ९ जना सांसद समितिमा छन्।
समितिमा ९ जना सांसद भए पनि कांग्रेस भित्रको गुटको प्रतिस्पर्धाका कारण सभापति बन्ने व्यक्तिको खोजी भने समिति बाहिरबाट समेत हुन थालेको छ।
समितिमा रहेका दिलेन्द्र बडू, हृदयराम थानी, सरिता प्रसाई कांग्रेस नेता शेखर कोइराला निकट मानिन्छन्। राजीनामा दिएका खतिवडा उपसभापति पूर्णबहादुर खड्का निकट मानिन्छन्। त्यसैले खड्का अथवा सभापति देउवा निकटका सांसदको सभापति पदका लागि खोजी सुरू भएको छ।
त्यसो त समितिमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का स्वयम पनि सदस्य छन्। त्यस्तै महामन्त्री गगन थापा पनि समितिमा छन्। दुबैको सभापति बन्ने सम्भावना छैन।
यस्तोमा कतिपयले कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा सभापति बन्ने सम्भावना औँल्याएका छन्। त्यसको पछाडि भने सांसद शर्माले सभापतिबाट खतिवडालाई राजीनामा गराउन गरेको जोडबल मुख्य कारण हो।
संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड सम्बन्धी त्रुटिमा सभापति खतिवडा राजनीतिक र नैतिक जिम्मेवार भएको निष्कर्ष कांग्रेसकै सहमहामन्त्री जीवन परियार नेतृत्वको उपसमितिले निकालेको थियो।
महामन्त्री शर्माले सो प्रतिवेदन कार्यान्वयनका लागि खतिवडालाई राजीनामा गराउनुपर्ने धारणा कांग्रेस नेताहरूको आन्तरिक बैठकमा गरेका थिए।
भिजिट भिसा प्रकरण र अफताब आलम प्रकरणका कारण पहिला नै पार्टी बदनाम भएको उलेलेख गर्दै शर्माले फेरि अर्को कुलिङ अफ प्रकरणको दोष पनि कांग्रेसले लिन नहुने बताएका थिए।
शर्माले त्यसैले सभापति खतिवडालाई राजीनामा दिन लगाउने र मौका आउँदा मन्त्री बनाउन सुझाव दिएका थिए। त्यसैले खतिवडालाई हटाएर कतै शर्माले सभापतिमा दाबी गर्न लागेको त होइनन् भन्ने प्रश्न कांग्रेस भित्रकै केही सांसदहरूले उठाएका थिए।
तर सेतोपाटीसँगको कुराकानीमा शर्माले पार्टीको जिम्मेवारी र अन्य कार्यव्यस्तताले समितिको नेतृत्व लिन नसक्ने बताए।
'समितिको सभापति चलाउने इच्छा भएको भए मैले रामहरि खतिवडा हुने बेला नै दाबी गर्न सक्थेँ,' शर्माले भने, 'मैले पार्टीभित्र पनि आउँदो २०८४ को निर्वाचनसम्म मन्त्री पनि बन्दिनँ भनेको छु। पार्टीमै काम गर्ने इच्छा छ।'
शर्माले समितिमै रहेका अम्बिका बस्नेत, दिलेन्द्रप्रसाद बडू र हृदयराम थानी नेतृत्वका लागि योग्य रहेको बताए।
मन्त्री समेत भइसकेका अम्बिका र दिलेन्द्र नेतृत्व गर्न योग्य रहेको शर्माको तर्क छ। त्यस्तै, विगत राज्य व्यवस्था एवं सुशासन समितिको सभापति चलाइसकेका हृदयराम थानी पनि जिम्मेवारीका लागि योग्य रहेको शर्माले बताए।
प्रतिनिधि सभा नियमावलीमा कुनै पनि समितिको सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति चयन गरिसक्नुपर्ने व्यवस्था छ।
'हामी नियमावली अनुसारको समयभित्रै सभापति चयन गरिसक्छौँ,' कांग्रेस सचेतक श्याम घिमिरेले भने, 'सभामुखले पनि छिट्टै नाम दिन भन्नुभएको छ।'
देउवा चाहँदैन थिए खतिवडाको राजीनामा
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार सभापति शेरबहादुर देउवाले मंगलबार बिहानसम्म पनि खतिवडालाई सभापति पदबाट राजीनामा नदिन सुझाव दिएका थिए। तर खतिवडाले प्रश्न उठिसकेपछि राजीनामा दिने मनसाय सभापति देउवा समक्ष व्यक्त गरेका थिए।
देउवाले भने छानबिन समितिको प्रतिवेदनले 'नाम नकिटेको उल्लेख गर्दै' राजीनामा दिन जरूरी नभएको बताएका थिए।
कांग्रेस स्रोतका अनुसार सभापति देउवाले पार्टीका अन्य नेताहरूलाई पनि अप्ठ्यारो समयमा खतिवडालाई साथ दिन भनेका थिए। तर कांग्रेसभित्र महामन्त्री विश्वप्रकाश शर्माले भने समितिबाट खतिवडालाई राजीनामा गराउनु उपयुक्त हुने धारणा राखेका थिए।
कांग्रेस सभापति देउवाको निवासमा पूर्णबहादुर खड्का, रमेश लेखक, श्याम घिमिरे र रामहरि खतिवडा सहितको छलफलमा शर्माले त्रुटिमा जिम्मेवार भनेर संसदीय समितिले लेखेको अवस्थामा राजीनामा दिनु उपयुक्त हुने सुझाव दिएका थिए।
साउन २६ गते देउवा निवासमा भएको बैठकमा शर्माले सभापति खतिवडाले मार्गप्रशस्त गरेर कांग्रेसको छवि निर्माणमा भूमिका खेल्न सक्ने बताएका थिए।
'राजनीतिमा नैतिक मूल्य जित्ने अवसर निकै कम आउँछ। हामीलाई भिजिट भिसा प्रकरणले कमजोर बनायो। त्यस्तै अफताब आलम प्रकरणले पनि राम्रो गरेन,' शर्माले बैठकमा भनेका उल्लेख गर्दै स्रोतले भन्यो, 'अहिले सभापतिमाथि नैतिक प्रश्न उठेका बेलामा छाडेर पार्टीलाई सघाउनुपर्छ।'
महामन्त्री शर्माले सभापति पद रामहरिले छाड्दा पछि मन्त्री बन्ने बाटो खुल्ने समेत बताएका थिए।
'यदि विश्वप्रकाश शर्मालाई भविष्यमा कुनै मन्त्री सिट आयो भने त्यसमा रामहरिलाई बनाए हुन्छ भनेर पनि उहाँले भन्नुभयो,' स्रोतले भन्यो, 'हामीले हाम्रै सहमहामन्त्रीको नेतृत्वमा तयार पारिएको प्रतिवेदन कार्यान्वयन गर्नुको विकल्प छैन भन्ने विश्वप्रकाशजी तर्क थियो।'
तर देउवाले भने कुलिङ पिरियडमा राजीनामा दिँदा भिजिट भिसा प्रकरणमा किन नदिएको भन्ने प्रश्न उठ्छ सक्ने भन्दै त्यो बाटो हिँड्न नहुने बताएका थिए।
'रामहरिजी अप्ठ्यारो परेको बेला सहयोग गर्नुपर्छ,' देउवालाई उदृत गर्दै स्रोतले भन्यो, 'प्रतिवेदनले कुलिङ पिरियड उहाँले हटाएको भन्दैन।'
राजीनामा दिएका सभापति खतिवडाले आफूलाई पार्टी सभापति देउवाले राजीनामा नदिन अन्तिमसम्म सुझाव दिएको बताए।