राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य किशोरबहादुर कार्कीले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीमाथि असन्तुष्टि जनाउँदै कार्कीले बिहीबार पार्टी परित्याग गरेका हुन्।
उनले प्रेस विज्ञप्ति निकालेर पुराना, इमानदार र जनाधार भएका कार्यकर्तालाई अपमानित गर्ने तथा पाखा लगाउने अभ्यासले संगठनको आत्मा मरेको जस्तो बनाएको उल्लेख गरेका छन्।
‘पार्टी अध्यक्ष जसलाई हामीले अभिभावक ठानेका थियौं तर सबैलाई मिलाएर अघि बढाउनुको सट्टा आफूसँग विमति राख्ने, सुधारका सुझाव दिने र अधिवेशनमा रातदिन मरेर सहयोग गर्ने त्यागी कार्यकर्तालाई नै छानी-छानी हटाउन थालेका छन्।
जब नेतृत्व नै आफ्ना योगदान कर्तालाई अपमानित गर्छ र आलोचकलाई निष्कासनमा केन्द्रित हुन्छ त्यस्तो नेतृत्वबाट पार्टीको भविष्य निर्माण कुनै हालतमा सम्भव छैन भन्ने प्रष्ट देखिन्छ,’ उनले भनेका छन्, ‘अतः म आजको मितिबाट राप्रपाको साधारण सदस्यता समेत परित्याग गर्दै आजदेखि कुनै दल वा गुटको नभई "स्वतन्त्र जनता" को आवाजका रूपमा
स्वतन्त्र विचार, विवेक र मूल्यका साथ राष्ट्र र जनताको सेवामा समर्पित रहने घोषणा गर्दछु।’
उनले पार्टीभित्र विचारभन्दा अगाडि पदको भागबन्डा, प्रायःजसो कार्यकर्ताहरु चाकडी र चाप्लुसीको बढोत्तरी, सिद्धान्त भन्दा "भागबन्डा, सेटिङ र साँठगाँठ" नै प्राथमिकता र प्रत्येक निर्वाचनमा नयाँ चुनाव चिह्नको बाध्यता, जसका कारण उम्मेदवारहरू जनताको समर्थन हुँदाहुँदै पनि पराजित भइरहेकोसमेत उल्लेख गरेका छन्।
‘यसरी जनता र कार्यकर्तामा निराशा र विश्वासको संकट सिर्जना भएको छ,’ उनले भने।
पार्टी भित्र नेतृत्वले कुनै विधि-विधानको पालना नगरी, संगठनलाई प्राइभेट कम्पनी वा क्लब झैं मनपरी तरिकाले सञ्चालन गर्दै आएको उनको आरोप छ।
‘वरिष्ठ नेताहरू नै मौन दर्शक बनेर निरीह भूमिकामा सीमित छन् भने केही कार्यकर्ताहरू "कुनै लाभ होला" भन्ने आशामा पनि चाकडी र चाप्लुसीमा व्यस्त छन्, अरूलाई खाने बाघले आफूलाई पनि खान्छ भन्ने यथार्थ प्रति बेखबर,’ उनले भने।
उनले सुधारका लागि अनेकौं प्रयास गरेको पनि बताएका छन्। तर नेतृत्वको अहंकार, भागबन्डा र हैकमबादी प्रवृत्तिले सुधारको कुनै सम्भावना नरहेको प्रष्ट भएको उनको दाबी छ।