राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव छत्र खडायतले राप्रपा पाल्पाका एक जना नेतामाथि हातपात गरेका छन्।
राप्रपा पाल्पाका नेता राजु गैरेलाई बुधबार साँझ धुम्बाराहीमा खडायतले हेल्मेटले कुटपिट गरेका हुन्।
घटनापछि गैरेले स्वकीय सचिव खडायतविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा निवेदन दिएको राप्रपाका एक नेताले जानकारी दिए।
गैरेले आफूमाथि कुटपिट भएको घटना र सिसि क्यामेरा फुटेजसमेत फेसबुकमा राखेका छन्।
गैरे गत निर्वाचनमा राप्रपाबाट पाल्पामा प्रदेश सभा उम्मेदवार थिए।
गैरे एक रेस्टुरेन्टमा साथीहरूसँग चिया पिएर बसिरहेका बेला खडायतले बुधबार साँझ करिब साढे ६ बजे कुटपिट गरेका थिए।
एक साथीसँगै मोटरसाइकलमा पुगेका खडायतले गैरेमाथि हेल्मेट प्रहार गरेका थिए।
घटना धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालय नजिकैको हो।
गैरेले हालै सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष लिङ्देनविरूद्ध स्टाटस लेखेका थिए।
‘...तिमीहरूलाई पञ्चे गन्हाएको थियो भने राप्रपा किन प्रवेश गरेको, अनि राजेन्द्र लिङ्देनका कुरा गर्छौं? ऊ के पञ्चे होइन? जसको चाकडीका लागि बोलिराखेका छौं, उसैलाई गाली त नगर, अलिकति पढेर विद्वान बन,’ भन्ने कुरा पोस्ट गरेका थिए।
स्वकीय सचिव खडायतले अध्यक्ष लिङ्देनविरूद्ध किन सामाजिक सञ्जालमा लेखेको भन्दै गैरेमाथि हेल्मेट प्रहार गरेका थिए।
यसबारे स्वकीय सचिव खडायतसँग बुझ्न खोज्दा उनको मोबाइल स्वीच अफ छ।