सिंहदरबारभित्र रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रायले प्रदेश ३-०१-००२ झ ५३६७ नम्बरको एउटा सरकारी गाडी हराएको भन्दै खोजिदिन गृह मन्त्रालयलगायत निकायलाई अनुरोध गर्यो।
सरकारी स्वामित्वको गाडी केही समयदेखि हराइरहेको भन्दै मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै असार १५ गते गाडी खोजिदिन र गाडी लैजानेलाई कानुनी कारबाही गर्न आग्रह गर्दै गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पत्राचार गरेको थियो।
‘यस मन्त्रालयको स्वामित्वमा रहेको गाडी (महिन्द्रा स्कोर्पियो) केही समयदेखि हराइरहेको हुँदा सवारी साधन जहाँ, जस्तो र जुन अवस्थामा छ खोजतलास गरिदिनु हुन साथै प्रचलित कानुनबमोजिम सो कार्यमा संलग्न रहेका व्यक्तिमाथि मुद्दा दर्ता गरी अनुसन्धान कारबाही अघि बढाइदिनुहुन असार १५ गतेको नेपाल सरकार सचिवस्तर निर्णयअनुसार अनुरोध गरिन्छ,’ मन्त्रालयले गृहलाई पठाएको पत्रमा उल्लेख थियो।
मन्त्रालयका सचिव कृष्णहरि पुष्करले निर्णय गर्दै गाडी खोजिदिन गृह, प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पठाएको पत्रमा कहिलेदेखि गाडी हराएको थियो भन्ने मिति भने उल्लेख थिएन।
मन्त्रालयले गाडी खोजिदिन अनुरोध गरेको पत्र गृह हुँदै प्रहरी प्रधान कार्यालयबाट इमेलमार्फत उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेको थियो। उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट उक्त गाडी खोज्ने काम नै सुरू भएको थिएन, गाडी फेला परिसकेको इमेल प्राप्त भयो।
‘श्रम मन्त्रालयबाट गृह हुँदै प्रहरी प्रधान कार्यालयबाट इमेलमार्फत हामीकहाँ सरकारी स्वामित्वको गाडी हराएकोले खोजि गरिदिन भनिएको थियो,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले भने, ‘गाडी खोजिदिन आग्रह गरिएको पत्रमा कहिलेदेखि गाडी हराएको भन्ने मिति उल्लेख थिएन। हामीले गाडी खोज्ने काम सुरू नगर्दै गाडी फेला परेको भन्ने इमेल प्राप्त भयो, हामीले केही गरिरहनै परेन।’
हराएको गाडी कहाँबाट फेला पर्यो भन्ने जानकारी आफूहरूलाई नभएको पनि उनले बताए। उक्त गाडी असार १६ गते फेला परेको भन्ने जानकारी भने कार्यालयमा इमेलबाट आएको उनको भनाइ छ।
यसबीचमा गाडी हराएको विषयमा चर्चा भएको थियो। सञ्चार माध्यममा पनि समाचार आएका थिए। असार १८ गते गोरखापत्रलाई प्रतिक्रिया दिँदै श्रम मन्त्री शरत सिंह भण्डारीले ‘हराएको भनिएको गाडी मन्त्रालयका सचिवको घरमै रहेको र गाडी प्राप्त भइसकेको’ बताएका थिए।
तर मन्त्रालयकै सचिव कृष्णहरि पुष्करले मन्त्रालयको स्वामित्वमा रहेको सरकारी गाडी हराएकोमा गृह, प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक कार्यालयमा पत्राचार गर्दै खोजिदिन आग्रह गरेका थिए।
कहाँ थियो त गाडी?
श्रम मन्त्रालयको गाडी यतिन्जेल कहाँ थियो, कसले प्रयोग गरेको थियो र कहाँबाट फेरि मन्त्रालयमै ल्याइयो भन्नेबारे श्रम मन्त्रालयले औपचारिक रूपमा भनिसकेको छैन। कर्मचारीहरू पनि यसबारेमा औपचारिक रूपमा कुरा राख्न चाहँदैनन्।
एक कर्मचारीका अनुसार श्रम मन्त्रालयको गाडी श्रम मन्त्री शरत सिंह भण्डारीकै पार्टी लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रयोग गरेका थिए। ती कर्मचारीको दाबीअनुसार मन्त्री भण्डारीले नै अध्यक्ष ठाकुरलाई गाडी प्रयोगका लागि मन्त्रालयलाई जानकारी नै नदिई पठाएका थिए।
अध्यक्ष ठाकुरका सहयोगीले उक्त गाडी मन्त्रालयमा लगेर छाडेका थिए।
अध्यक्ष महन्थ ठाकुरको सचिवालय स्रोतले मन्त्रालयको गाडी अध्यक्षले केही दिन मात्रै प्रयोग गरेको बताएको छ।
‘अध्यक्षज्यूको गाडी बिग्रिएका बेला मन्त्रालयको गाडी दुई-चार दिन प्रयोग गरिएको थियो, फिर्ता गरिसकियो,’ सचिवालय स्रोतले भन्यो।