अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपका सात जना राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँग ह्वाइट हाउसमा रसिया-युक्रेन युद्ध अन्त्य गर्नेबारे छलफल गरेका छन्।
यो छलफललगत्तै उनले जेलेन्स्की र रसियाका राष्ट्रपति पुटिनबीच चाँडै नै द्विपक्षीय वार्ता हुने घोषणा गरेका छन्। त्यो वार्तापछि आफू संलग्न त्रिपक्षीय वार्ता हुने पनि उनले उल्लेख गरेको अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि मात्रै अमेरिकाको अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका थिए। त्यो भेट लगत्तै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सात जना युरोपेली नेतासहित ह्वाइट हाउस पुगेका हुन्।
साढे तीन वर्षअघि सन् २०२२ को फेब्रुअरीमा सुरु भएको युक्रेन-रसिया युद्ध कसरी अन्त्य गर्ने भन्नेबारे छलफल केन्द्रित छ।
जेलेन्स्की र युरोपका नेताहरूसँगको भेटपछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै आफूले पुटिन र जेलेन्स्कीबीच भेटको तयारी सुरू गरिसकेको बताएका छन्।
जेलेन्स्कीले पनि पत्रकार सम्मेलनमा भने, ‘म रूसी राष्ट्रपतिसँग जुनसुकै ढाँचामा भेट्न तयार छु।’
भविष्यमा युक्रेनलाई रसियाले फेरि आक्रमण नगरोस् भनेर युक्रेनले ‘सुरक्षा ग्यारेन्टी’ चाहेको छ। त्यसबारे पनि छलफल भएको र महत्त्वपूर्ण प्रगति भएको नेताहरूले बताएका छन्।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार युक्रेनले युरोपेली सहयोगमार्फत ९० अर्ब डलरको अमेरिकी हतियार किन्नेबारे कुरा भएको जेलेन्स्कीले बताएका छन्। त्यस्तै, युक्रेनले आफ्नै देशमा ड्रोन उत्पादन गर्ने र त्यसको केही भाग अमेरिकाले खरिद गर्नेबारे पनि छलफल भएको छ। तर ‘सुरक्षा ग्यारेन्टी’बारे अहिलेसम्म औपचारिक सम्झौता भने भएको छैन। एक हप्तादेखि १० दिनभित्र औपचारिक सहमति हुने जेलेन्स्कीले बताएका छन्।
जेलेन्स्की र युरोपका नेताहरूसँगको छलफलका बीचमा ट्रम्पले पुटिनलाई फोन गरेका थिए। उनले फोनमा ह्वाइट हाउस बैठकमा भएका निर्णयहरू पुटिनलाई जानकारी गराएका थिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उनीहरूबीच ४० मिनेट कुरा भएको बताएका छन्।
ट्रम्पले युरोपेली नेताहरूसँगको भेटलाई सकारात्मक भन्दै युक्रेनका लागि सुरक्षा सुनिश्चितताबारे छलफल भएको बताएका छन्।
ह्वाइट हाउसको बैठकमा बेलायतका कीअर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, इटलीकी जोर्जिया मेलोनी र फिनल्याण्डका अलेक्जान्डर स्टब्सलगायतका युरोपेली नेताहरू सहभागी थिए।
फ्रान्सका राष्ट्रपति म्याक्रोन ‘युक्रेनसँग एकता देखाउन र युरोपेली हित जोगाउन’ सो वार्तामा सामेल भएका हुन्।
बैठकपछि म्याक्रोनले पुटिन शान्ति चाहन्छन् भन्नेमा आफू विश्वस्त नभएको जनाएका छन्। ‘मलाई लाग्दैन पुटिनलाई शान्ति चाहिएको छ। उनको अन्तिम लक्ष्य भनेकै बढीभन्दा बढी भूभाग कब्जा गर्ने र युक्रेनलाई कमजोर बनाउने हो,’ म्याक्रोनले भने।
कैयन् युरोपेली अधिकारीहरूले चेतावनी दिएका छन्— यदि पुटिनलाई युक्रेनमै रोकिन सकिएन भने उनले अरू युरोपेली भूमिमाथि पनि जबर्जस्ती कब्जा गर्ने प्रयास गर्न सक्छन्।