अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी मधेस प्रदेश अध्यक्ष अशोक यादवविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
अध्यक्ष यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई टेलिफोन गरेर 'लुटेरा' को आरोप लगाएका थिए।
अध्यक्ष यादवविरूद्ध जिल्ला अदालत सर्लाहीबाट शुक्रबार पक्राउ पुर्जी जारी भएको छ।
उनीमाथि आपराधिक उपद्रव कसुरमा पक्राउ पुर्जी लिइएको गृह मन्त्रालयले स्रोतले जनाएको छ।
सर्लाहीमा प्रहरीले व्यापारीहरूलाई दु:ख दिने गरेको भन्दै अध्यक्ष यादवले एसपीलाई बिहीबार टेलिफोन गरी कुराकानी गरेका थिए।
सो क्रममा उनले एसपी खड्कालाई लुटेरा भनेको आरोप छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेले सर्लाही घटनाबारे आवश्यक कानुनी कारबाही अघि बढाउन मधेस प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको बताए।
नेपाल प्रहरीको मधेस प्रदेशका डिआइजी उमाप्रसाद चतुर्वेदीले यसमा कानुनी प्रक्रिया अघि बढिसकेको बताए। ‘यो घटना के-कसरी भएको हो गम्भीरतापूर्वक हेर्न भनिएको छ,’ उनले भने।
अध्यक्ष यादव र एसपी खड्काबीचको कुराकानी अडिओ सार्वजनिक भएको थियो।