राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निजामती सेवा विधेयकको दफा हेरफेर गरिनु संसद र सांसदको अपमान भएको बताएका छन्।
प्रतिनिधि सभाबाट पारित भएको निजामती सेवा विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्था हेरफेर गरेको पाइएपछि विरोध भइरहेको छ।
कर्मचारीलाई अवकाश वा राजीनामाको दुई वर्षसम्म संवैधानिकलगायत पदमा नियुक्ति रोक्ने विषयमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भई सहमतिले पारित भएको थियो।
सोही विषय प्रतिनिधि सभाबाट पारित भएर आउँदा भने हेरफेर गरेको पाइएपछि सांसदहरूले आपत्ति जनाइरहेका छन् भने यसमा संलग्नमाथि छानबिन र कारबाही माग गरिरहेका छन्।
‘निजामती सेवा विधेयकको सबैभन्दा बेसी छलफल भएको र छलफलपछि सर्वसम्मतिले पारित भएको दफामा हेरफेर गरेर सार्वजनिक हुनु सामान्य विषय होइन। संसद र सांसदको अपमान हो। यो सामसुम पार्ने विषय होइन। गम्भीर छानबिन हुनुपर्छ,’ अध्यक्ष लिङ्देनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्।
यो पनि: राज्य व्यवस्था समितिका सचिव दुरा भन्छन्- निजामती विधेयक प्रतिवेदनको भाषा नहेर्नु त्रुटि भयो