नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि बस्दैछ।
सोमबार दिउँसो १ बजेदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बैठक सुरू हुँदैछ। कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ९ महिनापछि बस्न लागेको हो।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरू सहभागी रहनेछन्।
कांग्रेसले ९ महिनादेखि केन्द्रीय समिति बैठक राखेको थिएन। विधानमा दुई महिनामा कम्तिमा एक पटक केन्द्रीय समिति बैठक बस्नुपर्ने व्यवस्था छ।
कांग्रेस केन्द्रीय समिति १६८ सदस्यीय छ।
आइतबार पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले केन्द्रीय समितिको बैठकको एजेन्डा तय गरेको थियो।
बैठकले भ्रातृ संगठनहरुलाई समय थप्ने विषयलाई केन्द्रीय समिति बैठकको एजेन्डा बनाउने भएको छ।
केन्द्रीय समितिको बैठकमा समसामयिक, राजनीतिक विषयको समीक्षा हुने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
त्यस्तै पार्टीका विदेशमा रहेका जनसम्पर्क समितिलाई मजबुत बनाउने बारेमा केन्द्रीय समितिको बैठकमा छलफल हुनेछ। प्रदेश र केन्द्रको बजेटका बारेमा पनि छलफल हुने प्रवक्ता महतले जानकारी दिए।
उनले केही भ्रातृ संस्थाले अधिवेशन सकिसकेको र केहीले काम गर्न बाँकी रहेको र त्यसमा कति समय दिन सकिन्छ भन्नेबारेमा छलफल हुने बताए।
संस्थाको आवश्यकताको आधारमा समय दिने बारेमा छलफल हुने उनले बताए। साथै क्रियाशिल सदस्यहरुको स्थितिबारेमा पनि छलफल हुने उनले बताए।
'संगठनात्मक कार्यक्रम सय दिने अभियान थियो । त्यसको बारेमा पनि छलफल हुन्छ । सरकार कसरी चलिरहेको छ, प्रदेश केन्द्र त्यसबारेमा पनि छलफल हुन्,' प्रवक्ता महतले भने।