नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका सभापति रवि लामिछानेमाथि अन्याय नहोस् भन्नका लागि आफूले अन्तिमसम्म प्रयास गरेको बताएका छन्।
मंगलबार सिंहदरबारमा भिजिट भिसाबारे रास्वपाले असहमति जनायो तपाईंहरूले सहमति जनाउनुभएको हो भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले आफूले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति अन्तिमसम्म प्रयास गरेको बताए।
‘अहिले पनि रास्वपालाई धरै भन्न चाहन्न। रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति मैले अन्तिमसम्म प्रयास गरेको हो। अझै गर्दैछु। रास्वपाका साथीहरूले पछि बुझ्नुहुन्छ,’ उनले भने।
मंगलबार सिंहदरबारमा उनी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए।
उक्त भेटमा सदन र समाजवादी मोर्चाबारे छलफल भएको बताए।
‘सदनको अहिले भइरहेको परिस्थितिको बारेमा समीक्षा गरिएको छ। समाजवादी मोर्चालाई कसरी लैजाने र दुई पार्टीको सम्बन्धको बारेमा पनि सामान्य छलफल हो। गम्भीर विषयमा होइन,’ उनले भने।