नेकपा (माओवादी केन्द्र)का सांसद् वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टीसहित प्रतिपक्षलाई संसदमा नपेल्न सत्तापक्ष र सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन्।
आइतबार प्रतिनिधिसभामा विनियोजन विधेयक २०८२/०८३ को बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै पुनले संख्याको बलमा प्रतिपक्षीलाई पेलेर अघि बढ्न सकिन्छ भन्ने सोच त्याग्न आग्रह गरेका हुन्।
रास्वपालाई पनि बजेटमाथिको छलफलमा सहभागी हुने वातावरण बनाउन उनले आग्रह गरे ।
संसदको तेस्रो ठूलो र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसँग दुई बुँदे सहमति भएकाले बाँकीलाई पेलेरै जान सकिन्छ भन्ने नठान्न उनले चेतावनी दिए।
संसदीय अंकगणित र सत्तापक्ष र प्रतिपक्षीको भूमिका हेरफेर भइरहने विषय ख्याल गर्न उनले सत्तारुढ दलहरुलाई आग्रह गरे।
‘सम्माननीय सभामुखज्यू संसदको अभिभावक पनि हुनुहुन्छ । सत्तापक्षका साथीहरुलाई पनि जबर्जस्ती बल प्रयोग नगरी संयमित ढंगले प्रस्तुत हुन आग्रह गर्दछु’, पुनले भने, ‘ प्रमुख प्रतिपक्षी दल सहमतिमा आइसक्यो। अब यसलाई पेले पनि हुन्छ भन्ने ठान्नु हुँदैन । किनभने कहिले को सत्तापक्षमा, कहिले को प्रतिपक्षमा हुन्छ। कहिले कसको संख्या सानो हुन्छ कहिले कसो ठूलो हुन्छ। संसदीय गणित हेरफेर भइराख्ने कुरा हो।’
पुनले रास्वपालाई संसदमा एक्ल्याइयो भन्ने ठानेर विगतदेखिका राजनीतिक एजेण्डामा रास्वपासँग प्रतिशोध साँध्ने मौकाका रुपमा उपयोग खोजिए राम्रो नहुने बताए।
‘यही बेलामा विगतदेखिका केही सानातिना कुरालाई लिएर प्रतिशोध लिइहालौं भन्नेजस्तो सत्तापक्षले गर्न मिल्दैन । सत्तापक्ष जिम्मेवार बन्नुपर्छ र संसदको अभिभावकको भूमिकामा रहनुभएको सम्माननीय सभामुख महोदयले उहाँहरुलाई पनि संवादमा ल्याउने र बजेटमा आफ्ना धारणा राख्ने वातावरण बनाउने प्रयास गर्नुपर्छ ।’
पुनले केही दिनअघिसम्म मिलेर संसद् अवरुद्ध गरिएको र भिजिट भिसा प्रकरणमा छानबिन गर्ने र त्यसका लागि संरचना बनाउन सत्तापक्षबाट प्रतिबद्धता आइसँगै माग सम्बोधन भएकाले संसदको नियमित प्रक्रियामा सहभागी हुन आग्रह गरे ।
‘हिजो अस्तीसम्म हामी सँगसँगै संसद् अवरोध गरिराखेका थियौं। रास्वपाका माननीयज्यूहरुलाई म के अनुरोध गर्न चाहन्छु भने यहाँहरु संसदीय संघर्षमा नयाँ हुनुहुन्छ । हामीले उठाएका कुराहरुको एक ढंगले सम्बोधन भएको छ। बजेटमाथिको छलफल वर्षमा एकपटक मात्र हुने कुरा हो। यसमा आफ्नो दलका धारणा राख्नुस्’, पुनले भने । संसदीय संघर्ष गर्दा अनुभवी दलहरुसँग सहयोग लिन पनि रास्वपालाई पुनको आग्रह थियो ।
पुनले गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकराणमा नैतिकता प्रदर्शन नगरेको टिप्पणी पनि गरे । तर, आफ्नै दल काँग्रेसभित्रको एक पक्ष, प्रतिपक्षी दल र नागरिक स्तरबाट नैतिकताका आधारमा राजीनामा दिन गरिएको आग्रहलाई गृहमन्त्रीले अस्वीकार गरेको बताए ।
‘भिजिट भिसा प्रकरणलाई सम्बोधन गर्न खास गरी हामी र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका प्रतिपक्ष दलले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्नेका थियौं । स्वयं सत्तारुढ पार्टीभित्रै र सदन बाहिर पनि यो विषय उठेका थिए । हामी विपक्षी या आमजनताको तहबाट सम्बनिधत व्यक्तिलाई ध्यानाकर्षण गराउने, सुझाव दिने विषय हो । माननीय गृहमन्त्रीले म राजीनमा दिन्न र बाँकी सबै सरकारका तर्फबाट छानबिन गर्न तयार छौं भन्ने प्रतिबद्धता आएपछि हामी दुई बुँदेमा सहमत भएका हौं’, उनले भने।
उनले आफूहरुमाथि अदालतमा विचाराधीन रहेको अग्नि सापकोटासँगको मुद्धामा लेनदेन भयो भन्ने आरोप लगाइनु पूर्वाग्रहपूर्ण भएको टिप्पणी गरे।