सभामुख देवराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) बीच आइतबार बिहान छलफल भएको छ। नयाँ बानेश्वरस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा सदन सञ्चालन गर्ने विषयमा कुराकानी भएको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।
‘सभामुख घिमिरेले संसदमा जारी अवरोधबारे आज बिहान रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग अलग अलग छलफल गर्नुभएको छ। रास्वपा कार्यवाहक अध्यक्ष अर्यालसँग बानेश्वरस्थित कार्यकक्षमा छलफल गर्दै सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरू गर्नैपर्ने बाध्यता रहेको, अवरोधको स्वरुप बदल्न आग्रह गर्नुभयो। सभामुखले सदनलाई मर्यादित बनाउन समेत ध्यानाकर्षण गराउनुभयो,’ अधिकारीले भने।
छलफलमा रास्वपा कार्यवाहक अध्यक्ष अर्यालले आफूहरूको अवरोध जारी रहने बताएका छन्। संसदलाई मर्यादित बनाउने विषयमा रास्वपा संवेदनशील रहेको पनि जानकारी गराएको अधिकारीले बताए।
गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादाविपरीतका गतिवधि भएकोबारे बिहान भएको बैठकमा प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएको अधिकारीले बताए।
यस्तै सभामुख घिमिरेले अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझिदिन आग्रह गरेको अधिकारीको भनाइ छ।
‘सभामुखले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग संसदको अवरोध हटाउन आग्रह गर्नुभएको थियो। अध्यक्ष लिङ्देनसँग टेलिफोन गर्दै सभामुखले संसदमा आफ्ना विषयलाई राखेर सदन सुचारू गर्ने वातावरण बनाउन सहयोग गर्न आग्रह गर्नुभएको थियो,’ उनले भने।