विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीको नाराबाजी र वेल घेराउ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधबीच गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे शुक्रबारको प्रतिनिधि सभा बैठकमा धारणा राखे।
उनले आफू भिजिट भिसा प्रकरणमा संलग्न नरहेको दाबी गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हेरिराखेको विषयमा सहयोग गर्नुपर्ने बताए।
साथै उनले आफूविरूद्ध नक्कली पीडित खडा गरी पार्टी कार्यालयहरूमै कीर्ते जाहेरी दर्ता गर्ने प्रयास भइरहेको बताए। कुन पार्टीको कार्यालयमा यस्तो कार्य भएको हो भन्नेबारे उनले केही खुलाएनन्। तर यस्तो गतिविधि गर्नेमाथि कारबाही गरिने उनको भनाइ थियो।
‘केही पार्टीका कार्यालयहरूमा नक्कली तथाकथित पीडितहरूलाई बोलाएर जाहेरी लेखेर मेरा विरूद्धमा विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइराखेका छन्। कुन पार्टी कार्यालयमा लेखिएको छ त्यो मलाई जानकारी भइसकेको छ,’ गृहमन्त्री लेखकले भने, ‘यस्ता कीर्ते, जालसाझी र अमर्यादित कार्य गरेर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने काममा नलाग्न म साथीहरूलाई आग्रह गर्न चाहन्छु। र यस्ता अपमानजनक कार्य, कीर्ते जालसाझ गरेर नक्कली पीडित खडा गर्ने मानिसहरूको पत्ता लगाएर कारबाही गरिनेछ। तपाईंका पार्टी कार्यालयहरू कीर्ते र नक्कली पीडित खडा गर्ने पार्टी कार्यालय बन्दैछन्। यसमा तपाईंहरू सचेत हुनुस्, किनभने तपाईंहरू सम्भावना बोकेको हुनुहुन्छ।’
उनले आफूविरूद्ध नियोजित र षड्यन्त्रमूलक ढंगले राजनीतिक रूपमा आक्रमण गर्ने प्रयास भइरहेको पनि बताएका थिए।
भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसहित विपक्षी दलहरूले सुरूमा गृहमन्त्रीको राजीनामा र छानबिनको विषय उठान गर्दै प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएका थिए। तर माओवादी, एकीकृत समाजवादीलगायत विपक्षी दल उक्त मुद्दाबाट पछि हटेका थिए भने रास्वपा र राप्रपा गृहमन्त्रीको राजीनामा र छानबिन समितिमा अडिग छन्।
माओवादी केन्द्र भने एमालेसँग २ बुँदे सहमति गर्दै शुक्रबारदेखि सदन खुलाउन सकारात्मक भएको थियो।
हेर्नुहोस् संसदमा गृहमन्त्रीले बोलेको पूरा भिडिओ: