पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज कोशी प्रदेशको राजधानी विराटनगर जाने भएकी छन्।
उद्घोष दैनिकको २१ औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी विराटनगर जान लागेको उनका सचिवालयले जानकारी दिएको छ।
भण्डारी सोमबार बिहान ११:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगर प्रस्थान गर्ने कार्यक्रम छ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट प्रेस संगठन कोशी अध्यक्षसमेत रहेका पत्रकार बन्धु पोखरेललगायत सञ्चालक रहेको पत्रिका उद्घोषको वार्षिकोत्सवको अवसरमा पूर्वराष्ट्रपति भण्डारी विराटनगर जान लागेकी हुन्।
उद्घोषको वार्षिकोत्सवसँगै उनी राजनीतिक भेटघाटमा पनि सहभागी रहने कार्यक्रम छ।
साउन ५ र ६ गते बसेको नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्कन रोक लगाउने निर्णय गरेको थियो। त्यससँगै भण्डारीले एमालेको पूर्वउपाध्यक्षको हैसियतमा विज्ञप्ति निकालेर विरोध जनाएकी थिइन्।
यसैबीच उनले थापागाउँमा कार्यालय पनि सञ्चालनमा ल्याउन घर भाडामा लिइसकेकी छन्।