राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म आन्दोलन जारी रहने बताएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अहिलेसम्म आन्दोलनमा साथ दिएकोमा माओवादी केन्द्रलगायतलाई धन्यवाद पनि दिए।
‘अख्तियारले अध्यागमनमा बदमासी भइरहेको छ त्यहाँ ध्यान देउ भनेर गृह मन्त्रालयलाई ९ पटक पत्र काट्दासम्म गृह मन्त्रालय कहाँ थियो। जब अख्तियारले त्यहाँ धावा बोल्ने बेला भयो तब सबै आफ्नो कर्मचारीहरूलाई लुकाउनको लागि रातारात किन तानियो? यदि उहाँको संलग्नता छैन, उहाँलाई जानकारी थिएन भने कर्मचारीलाई संरक्षण दिनको लागि किन तानियो?,’ उनको प्रश्न छ।
उनले भिजिट भिसा प्रकरण छानबिन गर्न उच्चस्तरीय छानबिन समिति र ठगिएकाहरूले न्याय नपाएसम्म हाम्रो आन्दोलन जारी रहने पनि बताए।
माओवादी र एमालेबीच शुक्रबार भिजिट भिसा प्रकरणमा २ बुँदे सहमति भएको थियो। उक्त सहमतिलाई रास्वपा र राप्रपाले अस्वीकार गर्दै आजको प्रतिनिधि सभा बैठक अवरोध गरेका थिए।
भिडिओ: