निर्माण व्यवसायी संघ गोरखामा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट व्यवसायीहरूबीच गठबन्धन भएर अध्यक्षमा सूर्य भण्डारी निर्वाचित भएका छन्।
भण्डारी माओवादी केन्द्रनिकट निर्माण व्यवसायी हुन्। उनी यसअघि पनि अध्यक्ष थिए।
बिहीबार भएको निर्माण व्यवसायी संघ गोरखाको ११ औं अधिवेशनमा २३३ मत खसेको थियो। कूल मतदाता २५४ जना थिए।
अध्यक्षमा नेपाली कांग्रेसनिकट व्यवसायीहरूका तर्फबाट राजु लामिछाने उम्मेदवार थिए। एमाले-माओवादी र राप्रपाका साझा उम्मेदवार सूर्य भण्डारी ११५ मतसहित विजयी भए भने लामिछानेले १०२ मतमात्रै ल्याए।
कांग्रेसनिकट लामिछाने प्यानलका तीन जना उम्मेदवार निर्वाचित भए भने भण्डारीको प्यानलबाट ८ सदस्य निर्वाचित भए।
संघीय र प्रदेश सरकारमा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन छ। तर निर्माण व्यवसायी संघ गोरखाको चुनावमा भने कांग्रेसनिकट व्यवसायी एक्लै प्रतिस्पर्धामा रहँदा एमाले-माओवादी र राप्रपाले गठबन्धन गरेका हुन्।