इसराइलको आक्रमणमा इरानको शक्तिशाली सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)का प्रमुख मारिएका छन्।
शुक्रबार बिहान इसराइलले गरेको आक्रमणमा आइआरजिसीका कमान्डर इन् चिफ मेजर जनरल हुसेन सलामीको मारिएको बताइएको छ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले इरानको सरकारी टेलिभिजनलाई उद्धृत गरेर आइआरजिसी हुसेन मारिएको बताएका हुन्।
उनलाई इरानका सर्वोच्च नेता आयतोल्लाह अल खामेनीले सन् २०१९ मा आइआरजिसीका कमान्डर इन् चिफ नियुक्त गरेका थिए।
शुक्रबार बिहान इसराइलले आइआरजिसीको मुख्यालयमै हवाई आक्रमण गरेको बताइएको छ। सोही आक्रमणमा उनको मृत्यु भएको बताइएको छ।
आइआरजिसीको मुख्यालयबाट धुवाँको मुस्लो छुटिरहेको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्। आक्रमणमबाट अरू सैन्य अधिकारी पनि मारिएको बताइएको छ।
इसराइलले ६ वटा सैन्य इलाका, नतान्जको आणविक भट्टी, सैन्य अधिकारीहरूलाई लक्ष्य गरेर मिसाइल आक्रमण गरेको हो।
इसराइलको प्रतिक्रिया
इसराइलले इरानको परमाणु कार्यक्रम आफ्नो राष्ट्रिय सुरक्षाका लागि ठूलो खतरा मान्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग परमाणु सम्झौता गर्न खोजे पनि त्यो सफल नभएपछि इसराइलले इरानमाथि आक्रमण गरेको हो।
इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आत्मरक्षाका लागि आक्रमण गरिएको बताएका छन्। उनले नतान्जको परमाणु भट्टीमा हमला गरिएको बताएका छन्। साथै इरानको परमाणु भट्टी र हतियार कारखानालाई निस्तेज नपारुन्जेल आक्रमण गरिरहने बताएका छन्।
के भन्यो अमेरिकाले?
इसराइलले इरानमाथि आक्रमण गरेपछि संयुक्त राज्य अमेरिकाले पनि इरानलाई चेतावनी दिएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रूबिओले एक वक्तव्य जारी गर्दै मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अखडाहरूमाथि आक्रमण नगर्न चेतावनी दिएका छन्।
उनले इसराइलले इरानमा गरेको आक्रमणमा अमेरिकाको कुनै संलग्नता नरहने पनि बताएका छन्।
'इरानमाथि इसराइलले गरेको आक्रमणमा हाम्रो संलग्नता छैन। मध्यपूर्वमा रहेका हाम्रा सैनिकहरूको रक्षा हाम्रो पहिलो दायित्व हो। इरानले जबाफी हमलाको रूपमा हाम्रा सैनिक शिविरमा आक्रमण नगरोस्,' रूबिओले भनेका छन्।
उनले इरानमाथि आक्रमण जरूरी रहेको भनेर इसराइलले बताएको भनेका छन्।
'इसराइलले आत्मरक्षाका लागि इरानमाथिको आक्रमण जरूरी भइसकेको बताएको छ,' विदेशमन्त्री रूबिओले भनेका छन्।
यसअघि इरानले गत असोजमा इसराइलमाथि मिसाइल र ड्रोन हमला गरेको थियो।
इसराइलले इरानमाथि आक्रमण गरेपछि क्षेत्री तनाव बढ्ने खतरा उत्पन्न भएको छ।