अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी, नेपालका मधेस प्रदेशका सांसद सरोज सिंह कुशवाहालाई पक्राउ गरेको छ।
कुशवाहालाई अख्तियारले बिहीबार साँझ ६ बजे काठमाडौं महानगरपालिका-१० रत्नराज्य स्कुल नजिकबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
अख्तियारले जेठ १२ गते उनको घरमा छापा मारेको थियो। त्यति बेला उनका ६५ वर्षीय स्वकीय सचिव विनोदकुमार लाल कायस्थ पक्राउ परेका थिए।
प्रदेश सांसद सिंह समेतले विभिन्न उपभोक्ता समितिहरू गठन गरेर समितिको खातामा दाखिल भएको रकम आफ्नो निजी सचिव कायस्थमार्फत् झिक्न लगाउने गरेको आरोप छ।
सांसद सिंहले आफ्नो र श्रीमतीको बैंक खातामा रकम जम्मा गर्न लगाएर भ्रष्टाचार गरेको आरोप लागेको हो।
सिंह जनता समाजवादी पार्टी, नेपालका महोत्तरी क्षेत्र नम्बर ४ (ख) का सांसद हुन्।
उनको स्थायी घर मनराशिसवा नगरपालिका वडा नम्बर ६ सरपल्लो भए पनि हाल उनी धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ मा बस्छन्।
यो पनि:
मधेस प्रदेशका सांसदका स्वकीय सचिव पक्राउ, सांसदको मोबाइल फोन नियन्त्रणमा