नेकपा एमालेका सांसद योगेश भट्टराईले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालय तोडफोड गर्ने विद्यार्थीहरूलाई 'रेस्टिकेट' गर्न सुझाव दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत् भट्टराईले त्यस्ता विद्यार्थी र संगठनको विवरण सार्वजनिक गरी कारबाहीका लागि प्रहरीलाई उपलब्ध गराउन पनि विश्वविद्यालयलाई सुझाव दिएका छन्।
‘विश्वविद्यालय भनेका अध्ययन/अध्यापन, अनुसन्धान तथा स्वस्थ बहस/छलफल गर्ने थलो हुन्,’ भट्टराईले लेखेका छन्,‘बौद्धिक तथा प्राज्ञिक लगायतका सृजनात्मक क्रियाकलाप बाहेक गुण्डागर्दी, तोडफोड, आगजनी, कुटपिट जस्ता अराजक गतिविधि विश्वविद्यालयभित्र बर्जित हुनुपर्दछ।’
उनले विश्वविद्यालयमा भएका अराजक क्रियाकलाप मुलुककै लागि लज्जाको विषय भएको टिप्पणी गरेका छन्।
विद्यार्थी संगठनका नामबाट संगठित रूपमा तोडफोडको गतिविधिले राजनीतिक दलमाथि समेत प्रश्न उठ्ने भट्टराईको भनाइ छ।
उनले तोडफोडमा संलग्न विद्यार्थीलाई रेस्टिकेट गर्न, अराजक गतिविधि गर्नेको विवरण दलहरूलाई उपलब्ध गराउन, कानुनी कारबाहीका लागि ४ बुँदे सुझाव समेत उपकुलपतिलाई दिएका छन्।
योगेश भट्टराईका सुझाव
१. श्रीमान उपकुलपतिज्यूहरू, यस्त अराजक गतिविधिमा संलग्न विद्यार्थीहरूलाई तत्काल रेस्टिकेट गर्नुहोस्।
२. कुनै विद्यार्थी संगठनका नाममा अराजक गतिविधि भएको छ भने संगठनको नाम र संलग्नहरूको विवरण सार्वजनिक गर्नुहोस् अनि उक्त विवरण सम्बन्धित पार्टी कार्यालयमा पठाइदिनुहोस्।
३. अराजक गतिविधिमा संलग्नहरूको अपराध सहितको प्रतिवेदन तयार गरी कानूनी कारबाहीका लागि नेपाल प्रहरीलाई पठाइदिनुहोस्।
४. उपरोक्त कामहरू उच्च प्राज्ञिक चेत र विनापूर्वाग्रह भएका छन् भन्ने सुनिश्चिता गर्नुहोस्।
विद्यार्थी संगठनका अध्यक्षज्यूहरू,
विश्वविद्यालयभित्र गुण्डागर्दी, तोडफोड, आगजनी, कुटपिट जस्ता अराजक गतिविधिमा संलग्न तपाईंको संगठनका सदस्यलाई संगठनबाट तत्काल निष्कासन गर्नुहोस्। अनि नेपाल प्रहरीका महानिरीक्षकज्यू, प्राध्यापक प्रेम चलाउनीलाई मरणासन्न हुनेगरी हमला गर्नेहरू (जसलाई अदालतले समेत कर्वाहीका लागि निर्देशन गरेको छ ) कहिले गिरफ्तार हुन्छन्?
विश्वविद्यालयको प्राज्ञिक गरिमा र स्वायत्तता बचाउनु हामी सबैको दायित्व हो।