नेपाली कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र (हब) बनाउनुपर्ने बताएका छन्।
दशरथ चन्द मेडिकल विश्वविद्यालयलाई आवश्यक नीति ,कानुन निर्माण गरेर यथाशक्य छिटो सञ्चालन गर्नुपर्ने पनि उनले बताए।
‘हाम्रा विद्यार्थी मात्र विदेश जाने होइन, अब हामीले विदेशी विद्यार्थीलाई नेपालमा छात्रवृत्ति दिएर अध्ययनका लागि आकर्षित गर्ने नीति लिनुपर्छ। यहाँबाट ज्ञान लिएर फर्किने विदेशी विद्यार्थीहरू संसारभर नेपालका लागि अवैतनिक राजदूत बन्नेछन्। यसले हाम्रो जनपक्षीय कूटनीति (सफ्ट पावर) लाई विश्वव्यापी बनाउन महत्त्वपूर्ण योगदान गर्नेछ,’ धनगढीमा बुधबार भएको पत्रकार सम्मेलनमा उनले भने।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उनले सत्ता सञ्चालन र पार्टीको आन्तरिक व्यवस्थापनमा शीर्ष नेतृत्वले अपनाएको कार्यशैलीमाथि गम्भीर र सघन प्रश्नहरू उठाए। वर्तमान सत्ता गठबन्धनले बनाएको 'उच्चस्तरीय राजनीतिक संयन्त्र' र पार्टीभित्र 'पदाधिकारी बैठक' का नाममा भइरहेका निर्णय प्रक्रियाको उनले आलोचना गरेका हुन्।
उनले विगत १० महिनादेखि केन्द्रीय कार्यसमितिको बैठक बस्न नसकेको पनि बताए।
‘पार्टीको सर्वोच्च निकाय केन्द्रीय समितिलाई निष्क्रिय बनाएर केही सीमित शीर्ष पदाधिकारीको तजबिजमा पार्टी चलाउन खोजिएको छ। विधानको समयसीमा घर्किँदै जाँदा पनि महाधिवेशनको प्रक्रिया सुरू नहुनुले नेताहरूको नियतमाथि शंका उत्पन्न गराएको छ,’ उनले भने।