सदनको गतिरोध अन्त्यका लागि सत्ता र प्रतिपक्षी दलका नेताहरूबीच छलफल भएको छ।
संघीय संसद भवन नयाँ बानेश्वरको शंकर हलमा बुधबार दिउँसो सत्ता र प्रतिपक्षी दलका नेताहरूबीच छलफल भइरहेको हो।
यसअघि प्रतिपक्षी दलहरूबीच छलफल भएको थियो। उक्त छलफलमा भिजिट भिसाबारे संसदीय छानबिन समिति गठन गर्न प्रस्ताव गर्ने विषय उठेको थियो।
सोही विषयमा प्रतिपक्षी दलका नेताहरूले अहिले सत्ता पक्ष दलका नेताहरूसँग छलफल गरिरहेको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
रास्वपाले सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले संसदीय छानबिन समिति गठन हुने अभिव्यक्ति दिएकोले समिति गठन गर्नुपर्ने कुरा राखेको छ।
सरकारका प्रवक्ता गुरूङले मन्त्रिपरिषद बैठकका निर्णय सुनाउन आयोजित नियमित पत्रकार सम्मेलनमा भिजिट भिसा प्रकरणमा कर्मचारीमाथि अख्तियारले अनुसन्धान गरेको र त्यसमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने बताएका थिए भने धेरै भए संसदीय छानबिन बनाउने कुरा चलिरहेको बताएका थिए।
प्रतिपक्षी दलका सांसदहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको माग गर्दै लगातार प्रतिनिधि सभा बैठक अवरूद्ध गर्दै आएका छन्।
यसअघि रास्वपाले सहमतिका लागि नेपाली कांग्रेसलाई पनि मस्यौदा पठाएको थियो।
यसैबीच सभामुख देवराज घिमिरेले पनि सदनको गतिरोध अन्त्यका लागि सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग आज छलफल गरेका थिए।
प्रतिनिधि सभा बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइए पनि सूचना टाँस गरेर अपराह्न सवा ३ बजेका लागि तय गरिएको छ।