संसद खुलाउनेबारे सत्तारूढ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहमतिनजिक पुगेका छन्।
संघीय संसद भवनको शंकर हलमा कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरूबीचको छलफल सहमति नजिक पुगेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।
उनकाअनुसार संसद खुलाउने विषयमा लिखित सहमति नै गर्नेगरी छलफल अगाडि बढेको छ।
'लिखित सहमतिको भाषा तयार गर्न छलफल भइरहेको छ। निष्कर्षमा पुगिसकेका छैनौं,' उनले सेतोपाटीसँग भने।
दुई दलबीच संसद खुलाउने मध्यमार्गी उपायबारे छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
'त्यो भनेको भिजिट भिसा प्रकरणमा अख्तियारले छानबिन सक्काएपछि पुनः समिति बनाएर छानबिन गरिने भनेर लिखित सहमति गर्ने भन्नेतर्फ छलफल मोडिएको छ,' ती नेताले भने।
अहिले माओवादी केन्द्र गृहमन्त्रीको राजीनामाबाट पछाडि हटेर सिंगो प्रकरणको छानबिनका लागि आयोग गठन गर्नुपर्नेमा पुगिसकेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी गृहमन्त्रीको राजीनामामा अडिग छ।
दलहरूबीच अख्तियारको अनुसन्धानपछि अर्को आयोग वा अध्ययन समिति बनाउने लिखित प्रतिबद्धता भए संसद खुलाउन सकिनेगरी छलफल भइरहेको ती नेताले बताएका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार कांग्रेस सभापति शेर बहादुर देउवासँग भेटवार्ता गरेका थिए।
त्यसपछि आइतबार संसद भवनमै बसेको विपक्षी दलहरूको बैठकमा उनले छानबिन समिति बनाउन देउवा तयार नभएको भनेर ब्रिफिङ गरेका थिए।
विपक्षीको बैठकपछि प्रचण्डले शंंकर हलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासहित शीर्ष नेताहरूसँग छलफल गरेका हुन्।