नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
शनिबार साँझ ५ बजे देउवा र प्रचण्डबीच छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। देउवा निवास बूढानीलकण्ठमा भएको भेटमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि सहभागी थिए।
भिजिट भिस प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै प्रतिनिधि सभा बैठक प्रतिपक्षी दलहरूलै अवरूद्ध गर्दै आएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले भने गृहमन्त्रीको राजीनामा भन्दा उक्त प्रकरण छानबिनका लागि आयोग बनाउनुपर्ने विषयलाई प्राथमिकता दिएको छ।
विशेषगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडानमा छ।
बिहीबार बसेको माओवादीको पदाधिकारी बैठकले संसदको गतिरोध अन्त्य गर्नका लागि सत्तापक्ष र प्रतिपक्ष दल दुवैसँग छलफल गर्ने निर्णय समेत गरेको थियो।
गणतन्त्र पक्षधर प्रतिपक्षी दलहरूसँगको छलफलपछि शनिबार साँझ प्रचण्डले देउवासँग भेट गरेका थिए।
'प्रतिपक्षी दलहरूको तर्फबाट देउवासँग छलफल गर्ने म्यान्डेट प्रतिपक्षी दलको बैठकले उहाँ (प्रचण्ड)लाई नै दिइएको थियो। सोही अनुसार छलफल गर्नुभएको थियो,' प्रचण्डका प्रेस सल्लाहकार आचार्यले भने।
सोही अनुसार देउवासँगको छलफलमा प्रचण्डले भिजिट भिसा प्रकरणको छानबिनका लागि छुट्टै आयोग बनाउने प्रस्ताव गरेका थिए।
त्यसमा देउवा सहमत नभएको आचार्यले बताए।
'यस विषयमा संवैधानिक अंग अख्तियार दुरूपयोग अनुसधान आयोगले छानबिन गरिरहेकाले छुट्टै आयोग बनाउन जरूरी छैन,' देउवाको भनाइ उद्धृत गर्दै आचार्यले भने।
त्यसपछि अध्यक्ष प्रचण्डले अख्तियारले छानबिन गरिरहे पनि प्रश्न उठिसकेकाले छुट्टै आयोग बनाएर पनि छानबिन गर्नुपर्ने बताएका थिए।
त्यसमा देउवा सहमत नभएको आचार्यले बताए।
'त्यसपछि थप रणनीति बनाउन आइतबार मध्याह्न बस्नेगरी विपक्षी दलको बैठक बोलाइएको छ,' आचार्यले भने।