अमेरिकी सरकारले हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्ने अधिकार खोसेको छ।
बिहीबार ट्रम्प प्रशासनका गृहमन्त्री कृष्टि नोयमले विश्वविद्यालयलाई पत्राचार गर्दै विदेशी विद्यार्थी भर्ना अधिकार खोसेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
गृहमन्त्री नोयमले विश्वविद्यालयको स्टुडेन्ट एन्ड एक्सचेन्ज भिजिटर प्रोग्राम (एसइभिपी) प्रमाणीकरण शैक्षिक सत्र २०२५/०२५ देखि खारेज गर्न निर्देशन दिएकी हुन्।
प्रशासनले हार्वर्डलाई अहिले पढिरहेको विदेशी विद्यार्थीहरूलाई पनि अरू विश्वविद्यालयमा सार्न पनि आदेश दिएको छ। अन्यथा त्यस्ता विद्यार्थीहरूले कानुनी हैसियत गुमाउनुपर्ने चेतावनी दिइएको छ।
विश्वविद्यालयलाई अहिले पढिरहेका विदेशी विद्यार्थीहरुको विवरण पनि ७२ घन्टाभित्र उपलब्ध गराउन आदेश दिइएको रोयटर्सले जनाएको छ। त्यस्ता विद्यार्थीहरूको विगत पाँच वर्षको कृयाकलाप र गतिविधिको विवरण उपलब्ध गराउन भनिएको छ।
हार्वर्डले प्रशासन र विद्यार्थी अनुशासन कायम गर्न सुधार नथालेको राष्ट्रपति ट्रम्पको आरोप छ।
विश्वविद्यालयमा प्यालेस्टिनीको समर्थनमा भएका इसराइल विरोधी प्रदर्शन भएका थिए।
हार्वर्डले कथित यहूदी विरोधी भावनाको सामना गर्न चासो नदेखाएको र उदारवादी राजनीति गरेको आरोप लगाउँदै ट्रम्पले यसअघि संघीय सरकारले दिने २ अर्ब २० करोड डलरभन्दा बढी रोक्का गरिसकेका छन्।
हार्वर्डले ट्रम्प सरकारले आफ्नो शैक्षिक निर्णयहरुमा नियन्त्रण गर्न संघीय स्रोत रोक्का गरेको दाबी गर्दै संघीय रकम फुक्का गर्न माग गर्दै मासाच्युस्ट्समा रहेको अमेरिकी जिल्ला अदालतमा मुद्दा हालिसकेको छ।
ट्रम्प र हार्वर्डबीचको 'युद्ध' मा ट्रम्प प्रशासनको अहिलेको कदमलाई पनि हार्वर्डले गैरकानुनी र प्रतिशोधपूर्ण भनेको छ।
'यो प्रतिशोधपूर्ण कार्बाहीले हार्बर्ड र हाम्रो देशलाई गम्भीर हानी पुर्याउँछ। हार्वर्डको शैक्षिक र अनुसन्धान मिसनलाई पनि कमजोर बनाउँछ। हार्वर्ड विदेशी विद्यार्थीहरूलाई शिक्षित गर्न पूर्ण प्रतिबद्ध छ,' विश्वविद्यालयले विज्ञप्ती जारी गरेर भनेको छ।
ट्रम्प प्रशासनको यो कदमलाई डेमोक्र्याटहरूले पनि निन्दा गरेका छन्। उनीहरूले यसलाई हार्वर्डको शैक्षिक स्वतन्त्रतामाथि असह्य भनेका छन्।
गृहमन्त्री नोयमले भने हार्वर्डले हिंसालाई प्रश्रय दिएको, यहूदी विरोधी भावनालाई बढावा दिएको र चिनियाँ कम्युनिस्ट पार्टीसँग समन्वय गरेको आरोप लगाएकी छन्।
उनले हार्वर्डसँगै अरू विश्वविद्यालयहरूलाई पनि कारबाही गर्ने तयारी रहेको बताएकी छन्।
रोयटर्सका अनुसार हाल हार्वर्डमा कुल विद्यार्थीको २७ प्रतिशतभन्दा बढी विदेशी विद्यार्थी छन्।
सन् २०२२ मा विदेशी विद्यार्थीहरूमध्ये सबैभन्दा बढी चीनका थिए। त्यतिबेला चीनका १ हजार १६ विद्यार्थी हार्वर्डमा भर्ना भएका थिए। त्यसपछि क्रमशः क्यानडा, भारत, दक्षिण कोरिया, बेलायत, जर्मनी, अस्ट्रेलिया, सिंगापुर र जापानका विद्यार्थीहरूको संख्या बढी छ।
यो पनिः
संघीय अनुदान रोकेपछि ट्रम्प सरकारविरूद्ध हार्वर्डले हाल्यो मुद्दा
हार्वर्ड विश्वविद्यालयविरूद्ध ट्रम्पले छेडे युद्ध
सरकारका 'नाजायज' सर्त सार्वजनिक गरेपछि ट्रम्पले हार्वर्डलाई दिने थप १ अर्ब डलर कटौती गर्दै