नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले प्रत्येक नेपालीलाई शेयर बेचेर बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न सकिने बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद बजगाईले अर्थमन्त्रीले स्रोत व्यवस्थापनको विकल्प खोजी भइरहेको बताएकाले जनतालाई शेयर वितरण पनि उत्तम विकल्प हुन सक्ने बताएका हुन्।
'३ करोड १५ लाख नेपालीलाई प्रतिव्यक्ति ९ हजार ८४१ रूपैयाँ शेयर वितरण गर्न सकिने परिस्थित भएपछि नेपालीहरूले राष्ट्रिय गौरवको परियोजना बनाउन सक्थ्यौं,' उनले भने।
यो योजना सरकारलाई सुनाइदिन पनि सांसद बजगाईले सभामुखसँग अनुरोध गरे।
फरक प्रसंगमा उनले बाढीले क्षति पुर्याएको त्रिशूली नदीको धवाडीघाट, ठेवाटार, सिलिङटारको झोलुंगे पुल अझै नबनेकाले त्यसमा पनि सरकारको ध्यानाकर्षण गराए।