नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका सांसदहरू माया राई र मोहनबहादुर बस्नेत विषयमा उठेका विषयलाई अर्थमा नलिन सांसदहरूलाई आग्रह गरेका छन्।
शनिबार ल्होत्से हलमा भएको संसदीय दल बैठकपछि निर्णय सुनाउँदै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बैठकमा सांसदहरू पक्राउ र निलम्बनको विषय उठेको सभापति देउवाले त्यसलाई ठूलो रूपमा नलिन भनेको बताएका हुन्।
'राजनीतिमा यस्तै हुन्छ, हामी पनि जेल बसेर आएका हौँ, थुनामा बसेर आएका हौँ भन्ने कुरा राख्नुभयो । यो विषयलाई ठूलो अर्थमा लिनु हुँदैन भन्नुभयो,' बैठकपछि पत्रकारहरूसँग प्रमुख सचेतक घिमिरेले भने।
सांसद माया राई स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन प्रकरणमा वैशाख १३ गते पक्राउ परेकी थिइन्। उनी १० लाख धरौटीमा छुटिसकेकी छन्।
सांसद मोहन बस्नेतविरूद्ध टेरामक्स प्रकरणमा भ्रष्टाचार गरेको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको छ।