टर्कीको इस्तानबुलमा वार्ता भएको केही घन्टामै रूसले युक्रेनमाथि ड्रोन हमला गरेको छ।
शनिबार बिहान रूसले युक्रेनको बिलोपिलिया सहरमा प्रहार गरेको ड्रोन यात्रुवाहक बसमा लाग्दा ९ जनाको मृत्यु भएको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ।
उक्त हमला युक्रेनको स्थानीय समयअनुसार शनिबार बिहान ६:१७ बजे भएको थियो।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी ड्रोन हमलामा परी क्षतविक्षत भएको बस र त्यसमा मारिएका युक्रेनी नागरिकहरुको तस्बिर एक्स (पहिले ट्वीटर)मा राखेका छन्।
आक्रमणमा रूसले सटिक र घातक ल्यान्सेट ड्रोन प्रयोग भएको थियो। युक्रेनी अधिकारीहरुका अनुसार यो ड्रोनलाई अर्को निगरानी ड्रोनले लक्ष्यसम्म डोहोर्याएको थियो।
आक्रमणमा सात जना घाइते भएको बताइएको छ।
युक्रेनका विदेशमन्त्री आन्द्रे सिबिहाले यो आक्रमणलाई रूसले जानाजान र बर्बरतापूर्वक गरेको युद्ध अपराध भनेका छन्।
राष्ट्रपति जेलेन्स्कीले आक्रमणमा परी एकै परिवारका बाबु, आमा र छोरीको मृत्यु भएको बताएका छन्।
जेलेन्स्कीले शुक्रबार रूस र युक्रेनबीच भएको वार्तामा गोलाबारी बन्द गर्ने सुनौलो अवसर भए पनि रूसले हत्या जारी गर्नेबाहेक अरू क्षमता राख्न नसक्ने बताएका छन्।
त्यसकारण युक्रेनले भन्दै आएको युद्धविराममा रूसलाई पनि ल्याउनका लागि अरू देशहरूले ऊमाथिको प्रतिबन्ध अझै कडा बनाएर दबाब दिनुपर्ने उनको तर्क छ।
'कडा प्रतिबन्ध र बलियो दबाबबिना रूसले वास्तविक कूटनीति खोज्नेछैन,' जेलेन्स्कीले भनेका छन्।
उनले यसका लागि संयुक्त राज्य अमेरिका, युरोप र सबै साझेदारी मुलुकहरूबाट रूसविरूद्ध कडा प्रतिबन्धको अपेक्षा राखेको बताए।
शुक्रबार रूस र युक्रेनी प्रतिनिधिमण्डलबीच टर्कीको इस्तानबुलमा वार्ता भएको थियो।
वार्ताबाट एक/एक हजार युद्धबन्दी आदानप्रदान गर्ने सहमतिसमेत भएको थियो। यद्यपि युद्धविरामबारे भने कुनै निर्णय भएन। पुटिन र जेलेन्स्की सहभागी नभएको उक्त वार्तामा युद्धविरामबारे दुवै देशले आ-आफ्नो लिखित धारणा राख्ने र त्यसबारेमा छलफल गर्ने भनेका थिए।
वार्तामा दुवै देशले दुई देशका राष्ट्प्रमुखहरूबीच छलफल हुने वातावरण तयार गर्ने विषयमा छलफल गरेका थिए।