पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्वहारा श्रमीक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव नरहेको बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको अन्तरविरोधलाई चिरेर सही ढंगले निर्क्योल गर्न जरुरी रहेको बताएका हुन्।
'त्यसका लागि कम्युनिष्ट पार्टीलाई अझ बढी सही वैचारिक राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको आधारमा एकतावद्ध बनाउनुपर्नेछ,' उनले भने।
उनले सानो पार्टी बनाउने र अलग अलग र सानो सानो कसौँडीमा दाल पकाएर खाने अवस्थालाई तोड्नुपर्ने बताए।
'बुकुरो पार्टीहरु बनाउने र अलग अलग सानोसानो कसौँडीमा दाल पकाएर खाने खालको अवस्था बनेको छ। यो चिजलाई हामीले तोड्नुपर्छ। एउटै एकीकृत पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव हुँदैन,' उनले भने।
उनले कम्युनिस्ट आन्दोलनभित्र प्रकट भएका अवसरवादी चिन्तनहरु दक्षिणपन्थी अवसरवादी चिन्तनहरुलाई परास्त गर्दै क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तको आधारमा हाम्रो देशको समाजवादी क्रान्तिको रुपान्तरण अघि बढ्नुपर्ने बताए।
पूर्वप्रधानमन्त्री खनालले मदन भण्डारीका योगदानको समीक्षा गर्न आँट गर्नुपर्ने बताए।
दक्षिणपन्थी अवसरवादी चिन्तनहरुलाई परास्त गर्दै हामीले क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तको आधारमा हाम्रो देशको समाजवादी क्रान्तिको रुपान्तरण अघि बढाउनुपर्ने बताए। —न्युज एजेन्सी नेपाल