नेकपा एमाले गण्डकी प्रदेश कमिटीले पर्वत जिल्ला अध्यक्ष गोविन्द पहाडीको उपस्थितिमा प्रदेश सदस्य अर्जुन पौडेलमाथि भौतिक आक्रमण भएको भन्दै कारबाही माग गरेको छ।
प्रदेश अध्यक्ष नवराज सुवेदीले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो माग राखेका हुन्।
युवा संघ पर्वतको जिल्ला अधिवेशन तत्काल गर्ने कि पछाडि सार्ने भन्नेमा विवाद हुँदा पौडेलमाथि भौतिक आक्रमण भएको थियो। उनको टाउकोमा चोट लागेको छ। स्थानीय शान्तिदीप अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचार निम्ति पोखरा ल्याइएको छ। उनीसँगै ध्रुव श्रेष्ठ पनि घाइते भएका छन्।
विवाद मिलाउनुको सट्टा जिल्ला अध्यक्षकै उपस्थितिमा भौतिक आक्रमण भएको भन्दै विज्ञप्तिमा भर्त्सना गरिएको छ। तत्काल अनुसन्धान बढाएर कारबाही गर्न माग पनि गरिएको छ।
एमाले पर्वतका नेताहरूका अनुसार पार्टीभित्र झांगिएको गुटबन्दीले युवा संघ पर्वतमा आक्रमणको घटना भएको हो। पर्वतमा राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिना र प्रतिनिधि सभा सांसद तथा पूर्वकानुनमन्त्री पदम गिरी समूह क्रियाशील छ। गिरी समूहमा एमाले पर्वतका अध्यक्ष दवाडी छन्।
अधिवेशन केही समय सार्न माग गर्ने समूह राष्ट्रिय सभा पूर्वअध्यक्ष तिमिल्सिना पक्षको भएको एमाले पर्वतका कार्यकर्ता बताउँछन्। ती कार्यकर्ताका अनुसार युवा संघको अध्यक्ष र सचिव नभएको मौका छोपेर पार्टी जिल्ला अध्यक्षले जबर्जस्ती अधिवेशन गराएको बताउँछन्। यो युवा संघको विधानविपरीत भएको ती कार्यकर्ताले बताए।
एमाले पर्वतका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य विकास लम्सालले युवा संघ पर्वतका अध्यक्ष आउँदा आउँदै कार्यक्रम सुरू गर्नु गलत भएको बताए। गण्डकीका पूर्वमन्त्री तथा पूर्वसांसद लम्सालले एकअर्कालाई अस्वीकार गर्ने गरी ज्यादती र गुण्डागर्दी भएको पनि बताए।
'युवा संघका अध्यक्ष कार्यक्रममा आउँदै हुनुहुन्थ्यो। उहाँ नआइपुग्दै जबर्जस्ती कार्यक्रम आयोजना गरिएछ,' उनले भने, 'पार्टी नेतृत्वले मनोमानी र ज्यादती गरेछ। सबैलाई समेट्नुपर्ने ठाउँमा गुण्डागर्दी भएछ।' लम्साल गण्डकी प्रदेशका पूर्वसांसद तथा पूर्वमन्त्री हुन्।