नेपाली कांग्रेसका नेता शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा सभापति शेरबहादुर देउवानिकट पूर्वपदाधिकारीहरू छलफलमा जुटेका छन्।
पूर्वमहामन्त्री शशांक कोइरालाको निम्तोमा उनको घरमा बिहीबार पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत पुगेका छन्।
साथै ऊर्जा मन्त्री दीपक खड्का, केन्द्रीय सदस्यहरू एनपी साउद, दिलेन्द्रप्रसाद बडू, पुष्पा भुसाल, नैनसिंह महर, गुरू बराल, अम्बिका बस्नेत, शिव हुमागाईं, राजीब ढुंगाना, उर्मिला थपलियालगायत पनि पुगेका छन्।
पूर्वपदाधिकारीहरू छलफलमा जुटेका छन् भने निवासमा चियापान समारोह पनि आयोजना गरिएको छ।
१४ औं महाधिवेशन तयारी चल्दै गर्दा पनि शशांक-विमलेन्द्र-प्रकाशमान सिंहबीच छलफल हुने गर्थ्यो। कांग्रेसको १५ औं महाधिवेशनका लागि पनि उनीहरूले एकअर्काका निवासमा पुगेर 'लञ्च मिटिङ' गर्दै आएका छन्।
यसअघि यस्तै मिटिङ विमलेन्द्र निधिको निवासमा भएको थियो भने त्यसअघि प्रकाशमान सिंहकोमा भएको थियो।
सभापति शेरबहादुर देउवाले आफ्नो समूहबाट १५ औं महाधिवेशनमा सभापति उम्मेदवार चयन नगरेपछि उनीपक्षका पूर्वपदाधिकारीहरूले छलफल गर्दै आएका छन्।